• २० वैशाख २०८१, बिहिबार

उम्मेदवारको मनोनयनसँगै संसद्को कार्यकाल सकिने कानुनी व्यवस्था गरौँ : गगन थापा

blog

प्रतिनिधिसभा बैठकमा धारणा राख्नु हुँदै नेपाली कांग्रेसका सांसद गगन थापा ।

काठमाडौं, भदौ २१ गते । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्नु उपयुक्त हुने बताउनु भएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्नु उपयुक्त हुने धारणा राख्नुभएको हो । 

महामन्त्री थापाले भन्नुभयो, ‘‘मूलतः प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको विषयमा संसद् भित्र पनि संसद् बाहिर पनि चासोको विषय बन्यो । हामीले समयको ख्याल गर्नुपर्छ भन्ने कुराको यो प्रमाण हो । हामीले संविधानका जुन खालको व्यवस्था गरेको छौँ–तीन तहको सरकार, संसद्, त्यसको निर्वाचन अवधिहरू तोकेका छौँ । त्यसको कार्यकालको सन्दर्भमा ऐनबाट हामीले स्पष्ट व्यवस्था गर्नुपर्नेछ ।’’

उहाँले पछिल्लो केही समययता सांसद १/२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै सांसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देश प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यकतासमेत औँल्याउनु भयो । 

‘‘मानौँ हामीहरू एक/दुई महिनाको पारिश्रमिक र सेवा, सुविधा लिने कुराको निम्ति सबै मरिहत्ते गरिरहेका छौँ । त्यो नै सर्वाधिक महत्त्वको कुरो हो जस्तो गरिएको छ । कहिलेकाहीँ संसद्को प्रतिष्ठाको लागि हामी एक ठाउँ उभिनुपर्छ । हामी उभिएनौँ भनेदेखि त्यसको दाग हामी सबैलाई लाग्छ । यतातिर पनि हेक्का राखौँ भन्ने लाग्छ मलाई’’, थापाले भन्नुभयो । 

अहिले प्रस्तुत भएको सन्दर्भमा निर्वाचनपछि आउने सांसदले लामो बहस र छलफल गर्ने उहाँको भनाइ छ । सांसद थापाले आवश्यक परे संविधान संशोधन गर्नुपर्ने विषयसमेत उठाउनु भएको छ । महामन्त्री थापाले मत परिणाम घोषणा भएको अन्तिम दिनलाई आधार मानेर प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्नुपर्ने बताउनुभयो ।