• १३ मंसिर २०८१, बिहिबार

केबलकार परियोजना अघि बढाउन माग

blog

केवलकार निर्माण गर्न लागिएको ताप्लेजुङको पाथीभरा क्षेत्र । तस्विरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १ गते । ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकार परियोजनाको काम अघि बढाउन स्थानीय निजी क्षेत्रले माग गरेका छन् । 

पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले निर्माण गर्न लागेको केबलकार परियोजनाका लागि वातावरण सहज बनाइ काम अघि बढाउन निजी क्षेत्रले माग गरेका हुन् । 

जिल्लास्थित ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै केबलकार परियोजनाको काम अघि बढाउन माग गरेका हुन् । पाथीभरामा केबलकार निर्माणको काम सुरु गर्न सम्बद्ध सरोकारवाला निकाय एवं स्थानीय तथा प्रदेश सरकारले परियोजनामा देखिएको समस्याको सहजीकरण गरी तत्काल काम थाल्नुपर्ने निजी क्षेत्रले भनेको छ । 

पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धिगरी ताप्लेजुङमा व्यावसायिक अवसरको सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गर्दै परियोजना निर्माणमा कसैले अवरोध गर्न नहुने जनाएको छ । केबलकार निर्माणपछि सञ्चालनमा आउँदा जिल्लाको अर्थतन्त्र चलायमान हुने र रोजगारी लगायतका थुप्रै अवसर सिर्जना हुनेभन्दै निजी क्षेत्रले काम थाल्नुपर्ने माग गरेका छन् ।

अर्बौँ रुपियाँको लगानीमा निर्माण हुन लागेको केबलकार परियोजनाले समग्र जिल्लाको आर्थिक विकासमा ठुलो योगदान पुग्नेमा स्थानीय निजी क्षेत्र विश्वस्त छन् । परियोजनाले जिल्लाको पर्यटन प्रवर्धन तथा विकासमा थप सहयोग पुग्ने पनि निजी क्षेत्रको बुझाइ छ । परियोजनाप्रति सबै पक्ष जिम्मेवार भएर लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँहरूको भनाइ छ । 

परियोजनाका लागि आवश्यक सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वार्ता र संवादका माध्यमबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको धारणा रहेको छ । केबलकार परियोजना ताप्लेजुङवासीको हितमा रहेकाले सबै पक्षबिच सहमति र समझदारी जुटाइ कामलाई अघि बढाउनुपर्ने निजी क्षेत्रले अपिल गरेको छ । 

केबलकार निर्माणले ताप्लेजुङ मात्र नभएर पाँचथर र इलामलाई पनि फाइदा पुग्ने उल्लेख गरेको छ । यस्तै, प्रसिद्ध धार्मिकस्थल पाथीभरा मात्र नभई कञ्चनजङ्घा हिमालसहित यहाँको पर्यटकीय गन्तव्यमा आउजाउ गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गर्न केबलकारले टेवा पुग्ने निजी क्षेत्रको बुझाइ छ । 

जिल्लाको समृद्धिका लागि केबलकार परियोजना अति आवश्यक भएकाले काम सुरु गर्न ढिलाइ गर्न नहुने र कसैले बाधा अवरोध नगर्न पनि उहाँहरूको आग्रह छ । यता उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सुरु गरेदेखि मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले विरोध गर्दैआएको छ । 

पाथीभरा (मुक्कुमलुङ) आदिवासी जनजाति लिम्बू समुदायको पवित्र धार्मिक मुन्धुमीस्थल भएकाले केबलकार कुनै पनि हालतमा बनाउन नहुनेभन्दै समितिले आन्दोलन गरिरहेको छ ।