• १३ असोज २०८१, आइतबार

एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडिया ग्रुपको साथ

blog

सम्झौता पत्र आदान प्रदान गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत १ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको आयोजनामा चैत १२ गते हुने एनएनआइपिए स्पोर्ट्स अवार्डलाई केडिया ग्रुपले प्रायोजन सहयोग गर्नुभएको छ ।

सहयोगसम्बन्धी सम्झौता पत्रमा बिहीबार केडिया ग्रुपमा प्रबन्ध निर्देशक विमल केडिया र सङ्घका अध्यक्ष दीपक श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार केडिया ग्रुपले सङ्घले वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई प्रदान गर्ने जनही एक लाख रुपियाँ पुरस्कार तथा अवार्डको व्यवस्थापनका लागि ५० हजार गरी जम्मा दुई लाख ५० हजार रुपियाँ सहयोग गर्नेछ । सम्झौता तीन वर्षका लागि गरिएको बताइएको छ । 

कार्यक्रममा प्रबन्ध निर्देशक केडियाले खेलाडीलाई सहयोग गर्न पाउनु आफ्ना लागि राम्रो अवसर भएको बताउनुभयो । यस्तै सङ्घका अध्यक्ष श्रेष्ठले केडिया ग्रुपको सहयोगले अवार्डको स्तर थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अवार्डमा कार्यक्रममा गत वर्ष गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानी सम्बन्धित सङ्घले सिफारिस गरेको खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मान गरिने खेलाडी सङ्घले जानकारी दिएको हो । यसपटक अवार्ड ललितपुरमा हुनेछ ।

अवार्डमा ३६ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी मध्येबाट एक पुरुष र महिला सर्वोकृष्ट खेलाडी, एक पुरुष महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार, एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान, एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले एक लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । खेल पत्रकार र खेल व्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ ।