• १३ साउन २०८१, आइतबार

गहुँ लगाउने क्षेत्रफल कम हुँदै

blog

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको धान खेत ।

अमृतप्रसाद पौडेल

म्याग्दी, चैत १ गते। नेपालमा धान, मकै तथा गहुँलाई मुख्य बालीको रुपमा लिइने भए पनि पछिल्लो समय म्याग्दी जिल्लामा गहुँ उत्पादन र खेती गर्ने क्षेत्रफल घटेको छ।

कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार पछिल्लो तीन आर्थिक वर्षकै अवस्था हेर्ने हो भने पनि गहुँखेती हुँदै आएकोमा दुई सय हेक्टर भन्दा बढी क्षेत्रफल कमी आएको छ। 

आर्थिक वर्ष २०७८/७९ मा दुई हजार पाँच सय ३० हेक्टरमा गहुँखेती भएको थियो। त्यसपछि ०७९/०८० मा दुई हजार चार सय हेक्टरमा गहुँखेती भएकोमा चालु आर्थिक वर्षमा दुई हजार तीन सय १० हेक्टरमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो।

केन्द्र प्रमुख बाँस्तोलाका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रति हेक्टर दुई दशमलव चार मेट्रिक टन उत्पादन भएको थियो भने गत आर्थिक वर्षमा दुई दशमलव ३ मेट्रिकटन उत्पादन भएको छ। चालु आर्थिक वर्षमा गहुँ लगाइएको मात्रै अवस्था भएकोले उत्पादनको विषयमा भन्न सक्ने अवस्था छैन तर पनि विगतको दृश्य हेर्दा उत्पादन घट्ने देखिन्छ।

त्यस्तै चालु आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा तीन हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा १३ हजार एक सय ९२ मेट्रिक टन धान उत्पादन भएको छ। यस वर्ष गत वर्षको तुलनामा केही बढी धान उत्पादन भएको थियो। 

त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा तीन हजार आथ सय ९६ हेक्टरमा धानखेती गरिएकोमा १२ हजार ५९ मेट्रिकटन धान उत्पादन भएको थियो। त्यस भन्दा अघिल्लो आर्थिक वर्ष तीन हजार आठ सय ८४ हेक्टरमा धानखेती हुँदा १३ हजार तीन सय ५७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीकी सूचना अधिकारी सम्झना अधिकारीले जानकारी दिनुभयो।