• १३ साउन २०८१, आइतबार

खानेपानी मर्मत योजना : अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा दायर

blog

काठमाडौं, चैत १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले ब्याफु खानेपानी मर्मत योजनाका लागि आर्थिक वर्ष २०७४/०७५ मा छुट्टाइएको रकम अनियमितता गरेको उजुरी निवेदनका आधारण् अनुसन्धान हुँदा सो योजनामा भ्रष्टाचार भएको पुष्टि भएको जानकारी दिनुभयो ।

वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा पाँच लाख १५ हजार १०८ रुपियाँ दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित नौ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खानेपानी योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएको, झुटा बिल भरपाई तयार गरेको आदि कारणले सरकारलाई हानी नोक्सानी पुर्‍याएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको ठहर छ ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब इन्जिनियर हर्कधन बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष विरकुल्ली बुढा र वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।