• १७ वैशाख २०८१, सोमबार

मेरो अभिनय यात्रा

blog

मेरो नाम अंशिका जोशी हो । म सानैदेखि पढाइसँगै अतिरिक्त क्रियाकलापमा रुचिपूर्वक भाग लिने गर्दै आएकी छु । म हाल भ्याली भ्यु स्कलमा ६ कक्षामा अध्ययनरत छु । कक्षा ५ मा पढ्दै गर्दा अभिनय सिक्न मलगायत मेरो स्कुलका अन्य साथी राजन गुरुले सञ्चालन गरिरहनुभएको लालावालामा भर्ना भयौँ । राजन गुरुले हामीलाई निकै मेहनत गरेर आधारभूत अभिनय कला सिकाउनु भयो । म अहिले पनि उहाँसँगै शनिबारको कक्षा लिने गर्छु । करिब एक वर्षमा मैले चार वटा नाटकमा अभिनय गर्ने मौका पाएकी छु ।  जसमा एउटा छोटो फिलिम, भानुभक्त, साथ र गौतम बुद्व छन् ।

गौतम बुद्धको जीवनीमा आधारित नाटक हामीले टङ्क गुरुको निर्देशनमा भारतको दिल्लीमा गएर प्रदर्शन गरेका थियौ‘ । यस नाटकका लागि मलगायत मेरा स्कुलका कक्षा ६, ७ र ८ का १४ जना साथीहरू (सान्निध्य लामिछाने, स्पन्दन  अधिकारी, हर्षवद्वनशमशेर कुँवर, मुन पौडेल, सञ्जिवनी निरौला, अभिक जोशी, आरोषी आचार्य, जिज्ञासा बस्नेत, उश्रा भन्डारी, स्वर्णिम खड्का, ग्रेसी कोइराला, आज्ञा बस्नेत) ले अभिनय गरेका थियौँ । यस नाटकमा भगवान् गौतम बुद्धको भूमिकामा अभिनय गर्न पाउनु मेरा लागि अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि मानेकी छु ।

दिल्ली यात्रामा हामीले प्रकाश सर, टङ्क गुरु, सोनी म्याम र आकाङ्क्षा म्यामले अभिभावकत्व प्रदान गर्दै लिएर जानुभएको थियो । दिल्लीस्थित ‘रायन इन्टरनेसनल स्कुल’ ले डिसेम्बर (१३–१७) सम्म आयोजना गरेको अन्तर्राष्ट्रिय थियटर फेस्टिभलमा सहभागिता जनाउन हामी त्यहाँ गएका थियौँ ।  विश्वभरिबाट १७ वटा देशको सहभागिता रहेको उक्त कार्यक्रममा हामीले राम्रो प्रस्तुतीकरण गर्न सकेकोमा झ्याली भ्यु स्कूल परिवार, टङ्क गुरु र हामी सबै सहभागी अत्यत खुसी छौँ। दिल्ली रहँदाको क्षण, र त्यहाँको हाम्रो प्रस्तुति, दिल्ली गेट, दिल्ली हाटलगायतका रमणीय स्थानको घुमघाम हाम्रो लागि जीवनपर्यन्य अविष्मरणीय रहने छ । यसका साथै रायन स्कुलको आतिथ्य र त्यहाँ बिताएका सबै सुखद क्षणका लागि उक्त स्कुल परिवारलाई सादर धन्यवाद दिन चाहन्छु । दिल्ली भ्रमणबाट हामीले धेरै कुरा सिक्ने र बुझ्ने मौका पायौँ  जुन हाम्रो आगामी दिनमा निकै नै काम लाग्ने छन् ।