• १६ भदौ २०८१, आइतबार

भूकम्पग्रस्त क्षेत्रमा कुपोषणको जोखिम

blog

सुर्खेत समाचारदाता

सुर्खेत, फागुन २० गते । गत कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण प्रभावित जिल्लाका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । विशेष गरी अति प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिमका साथ सल्यान जिल्लाका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो । 

नेपाल परिवार नियोजन सङ्घले जाजरकोट र रुकुमपश्चिमका जिल्लाका स्थानीय तहमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा परीक्षण गर्दा महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको देखिएको जनाएको छ । सङ्घले गत मङ्सिरदेखि माघसम्मको तीन महिना सञ्चालन गरेको विपत्को समयमा प्रजनन स्वास्थ्य सेवामा न्यूनतम आधारभूत स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ती शिविरमा सेवा लिन आएका बालबालिका र महिलाले पर्याप्त मात्रामा पोषिलो खानेकुरा खान नपाएको र खान नसकेको हुँदा कुपोषणको जोखिम रहेको सङ्घका कार्यक्रम संयोजक वसन्त खनालले बताउनुभयो । 

प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, केबल दाल र भात मात्रै खाने र सन्तुलन मिलाएर खान नसकेका कारण त्यहाँका महिला र बालबालिकालाई कुपोषणको जोखिम रहेको खनालले जनाउनुभयो । शिविरमा स्वास्थ्य जाँच गराउन आएकाको अवस्था हेर्दा पनि कुपोषणको जोखिम रहेको पाइएकोले ती ठाउँमा पर्याप्त खानेकुरा पु¥याउन र भएका खानेकुरा पनि सन्तुलन मिलाएर खान सिकाउन जरुरी रहेको उहाँको भनाइ छ । जाजरकोटको बारेकोट र कुसे गाउँपालिकामा यो समस्या अझ बढी देखिएको छ । यसका साथै पायल्सको समस्या पनि बढ्दै गएको छ । यस्तै ती ठाउँमा परिवार नियोजनको साधन प्रयोग गर्ने ज्ञान पनि नभएको पाइएको छ । अनिच्छुक गर्भधारणको पनि समस्या बढ्दै गएको हुनाले ‘इम्प्लान्ट’ सेवा प्रदान गर्न जरुरी देखिएको कार्यक्रम संयोजक खनालले बताउनुभयो । 

भूकम्पपछि यस्तै समस्या बढ्न सक्ने भएकाले सङ्घले तीन महिनाको अवधिमा ४६ वटा स्वास्थ्य शिविरको आयोजना गरी सात हजार तीन सयभन्दा बढी प्रभावितलाई स्वास्थ्य सेवा दिएको जानकारी उहाँले दिनुभयो । शिविरमा सेवा लिन आउनेमा महिलाको सङ्ख्या अत्यधिक थियो । ती सबै शिविरबाट सेवा लिनेमा पुरुष ९४४ जना थिए भने महिलाको सङ्ख्या छ हजार ३५५ जना रहेको थियो । यस्तै चार हजार १०९ महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो भने १०६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको सामान्य पहिचान गरिएको, २० जना क्यान्सरको सम्भावित बिरामी पत्ता लागेका थिए । 

ती शिविर सञ्चालन गर्दा ५४५ जना महिलालाई अनिच्छुक गर्भपतन सेवा पनि दिइएको खनालले बताउनुभयो । उहाँले भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा प्रदान गर्न, एचआइभी रोक्ने सन्देश प्रदान गर्न, अनिच्छुक गर्भधारण घटाउन सङ्घले कार्यक्रम गरेको जानकारी दिनुभयो । ती कार्यक्रम जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुसे गाउँपालिकाका साथै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो ।  प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक दीपा भछ्छराईले भूकम्पपछि परिवार नियोजनको सेवा अति आवश्यक रहेकोमा परिवार नियोजन सङ्घले शिविर सञ्चालन गरी तत्कालका लागि सहयोग गरेको बताउनुभयो । उहाँले भूकम्पपछि कुपोषणलगायतका समस्या रहने हुँदा निर्देशनालयले जिल्लामार्फत उपचार गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिनुभयो ।