• १३ साउन २०८१, आइतबार

स्वास्थ्य आपूर्ति प्रमुख अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय

blog

सुदूरपश्चिम सरकारले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्याल । तस्बिर : भवानी ऐर

भवानी ऐर
गोदावरी (कैलाली), फागुन १८ गते ।
सुदूरपश्चिम सरकारले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव पोखरेलका अनुसार मुख्यमन्त्रीस्तरीय बैठकले अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा अनियमितता गर्ने उद्देश्यले मिलेमतो गरेको भन्दै प्रदेशसभाको सामाजिक विकास समितिले अर्यालमाथि छानबिन गरिरहेको थियो ।

छानबिन नसकिदासम्म उहाँलाई जिम्मेवारीमुक्त गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको थियो । तर मन्त्रालयले अर्याललाई पदमुक्त गर्ने अधिकार नभएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेपछि मुख्यमन्त्रीस्तरीय बैठकले अर्याललाई प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्र प्रमुखको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याल प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्देशकको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघि उहाँलाई सामाजिक विकास मन्त्रालयले ३० फागुन २०७९ मा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो ।