• १३ असोज २०८१, आइतबार

राष्ट्रिय महिला भलिबल : लुम्बिनी र गण्डकीले प्रतिस्पर्धा गर्दै

blog

इमान सिं राना
रामपुर (पाल्पा), फागुन १८ गते ।
प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुक्रबारदेखि पाल्पामा हुँदैछ । सङ्घीयतापश्चात् लुम्बिनीमा हुन लागेको प्रथम संस्करणको राष्ट्रिय महिला भलिबलको उट्घाटन खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ ।

जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा मुख्य प्रयोजनमा हुन गइरहेको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछ । तीन विभागीय टिम र सात प्रदेशका टिमसहित १० टिमको सहभागीता रहने भनिए पनि अन्तमा विभागीय टिमबाट एपीएफ क्लबले मात्र सहभागिता जनाएको जिल्ला भलिबल सङ्घ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

उहाँले तयारीका सम्पूर्ण कार्य सकिएको र आठ वटै समूह प्रतिस्पर्धाका लागि रामपुर आइसकेकाे बताउनुभयो । सहभागी टिम सङ्ख्या घटेसँगै फागुन २४ सम्म हुने भनिएको प्रतियोगिता फागुन २२ गते नै समापन हुने भएको छ ।

उट्घाटन खेल दिउँसो २ः३० बजे हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री चन्द्रवदना राईले जानकारी दिनुभयो । घरेलु टोली लुम्बिनी प्रदेश र गण्डकी प्रदेश उट्घाटन खेल अघि दुई खेल हुनेछ । पहिलो खेल बिहान ९ बजेदेखि सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशबिच हुनेछ । दोस्रो खेल विहान ११ बजे कर्णाली प्रदेश र बागमती प्रदेश बिच हुनेछ ।

सहभागी टिममध्ये समूह एतर्फ एपीएफ क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ । समूह बीतर्फ बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश छ । रामतुलसी माविको खेल मैदान बेझाँडमा हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता जिल्ला भलिबल संघ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रयोजन, नेपाल भलिबल सङ्घकाे संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल सङ्घ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य सङ्घको प्रवर्द्धनमा हुन लागेको हो ।