• २ जेठ २०८२, शुक्रबार

हट्यो प्रदेश सभाको अवरोध

blog

राममणि दाहाल 

हेटौँडा, फागुन १८ गते । बागमती प्रदेश सरकार र विपक्षी दलबिच बजेट भागबन्डामा लामो समयदेखि चल्दै आएको विवाद समाधान गर्न विशेष समिति बनाइएको छ । बागमती प्रदेश सभाको बिहीबार बसेको बैठकले बजेटका सम्बन्धमा सरकार र विपक्षी दलबिचको विवाद सुल्झाउन विशेष समिति बनाएको हो । गत असारमा प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट समानुपातिक नभएको र विभेदपूर्ण भएको भन्दै विपक्षी दलहरू विरोधमा उत्रिएपछि विपक्षीको माग सम्बोधन गर्ने सहमतिमा प्रदेश सभाबाट बजेट पारित गरिएको थियो । असारमा भएको सहमतिमा भने प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले प्रदेश सभा बैठकमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएपछि विपक्षी दलहरू सरकारप्रति आक्रामक बन्दै गएका थिए । 

बजेटसम्बन्धी विवाद समाधान नभएमा बैठक चल्न नदिने प्रमुख विपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीको अडानपछि विशेष समिति बनाएर समस्या समाधान गर्न यसअघि बिहीबार नै भएको सर्वदलीय बैठकमा सहमति जुटेको थियो । प्रदेश सभाको बैठकले नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा आव २०८०/८१ को बजेट तथा कार्यव्रmम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरेको हो । यसअघि नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभाको दोस्रो बैठकमा विशेष समिति गठनसम्बन्धी प्रस्ताव राख्नुभएको थियो । 

मुख्य सचेतक ढकालले प्रदेश सरकार र प्रदेश सभामा रहेका दलहरूबिच भएको समझदारी र मुख्यमन्त्री जम्कट्टेल र आर्थिक मामिला तथा योजनामन्त्री तामाङले आव २०८०/८१ को बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेश सभासमक्ष गर्नुभएको प्रतिबद्धतालाई नेपालको संविधान, कानुन, ऐन अनुसार कार्यान्वयन गर्न गराउन विशेष समिति गठन गर्न लागेको जानकारी दिनुभयो । उहाँले प्रदेश सभा नियमावली, २०७४ को नियम १५२ मा व्यवस्था भए अनुसार बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गर्न प्रस्ताव राख्नुभएको हो । 

मुख्य सचेतक ढकालले पेस गर्नुभएको उक्त प्रस्तावलाई कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रजापति, नेकपा (एकीकृत समाजवादी) का रमा आलेमगर र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान वज्राचार्यले समर्थन जनाउनुभएपछि प्रदेश सभाको बैठकले सर्वसम्मतिबाट पारित गरेको थियो । समितिले यही फागुन २९ गते मङ्गलबार दिउँसो ३ः०० बजे बस्ने प्रदेश सभाको बैठकमा प्रतिवेदन पेस गर्ने गरी समयसीमा निर्धारण गरेको छ । 

समितिमा नेमकिपाबाहेकका दल 

कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालको संयोजकत्वमा गठित आव २०८०/८१ को बजेट तथा कार्यव्रmम व्यवस्थापनसम्बन्धी विशेष समितिमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये नेपाल मजदुर किसान पार्टीबाहेक छ दलको प्रतिनिधित्व रहेको छ । समितिमा प्रदेश सभा सदस्यहरू इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, डा. दिनेश देवकोटा, प्रभात तामाङ, वसन्तप्रसाद ढकाल, रत्नप्रसाद ढकाल, रमा आलेमगर, मधुसूदन पौडेल र शैलेन्द्रमान वज्राचार्य रहनुभएको छ । 

प्रदेश सरकारले विपक्षीको माग अनुसार बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता कार्यान्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र र कर्मचारीले नमानेको भन्दै ढिलाइ भएसँगै प्रदेश सभाको बैठक बोलाउनसमेत ढिलाइ गरिएको थियो । फागुन १५ बाट सुरु भएको प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो दिन प्रदेश सभाको अधिवेशनको सफलताका लागि शुभकामना आदानप्रदानमा सीमित बनेको थियो । प्रदेश सभाको दोस्रो बैठक बस्न सर्वदलीय बैठक बसे पनि दलहरूबिच सहमति नजुटेपछि बुधबार बिहान ११ः३० बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । बिहीबारको सर्वदलीय बैठकमा दलहरूबिच विशेष समिति गठन गर्ने सहमति जुटेपछि प्रदेश सभाको बैठक नियमित भएको थियो ।