• १३ साउन २०८१, आइतबार

बिक्दैन अनुसन्धान केन्द्रकै बिउ

blog

कविराज घिमिरे 

हिले, फागुन १८ गते । कृषि अनुसन्धान केन्द्रले यो वर्षलाई लक्षित गरी करिब ४.५ टन गुणस्तरीय गहुँको बिउ उत्पादन गरेको थियो तर उत्पादन भएकोमध्ये आधा मात्र गहुँको बिउ खपत भयो । आधा केन्द्रमै थन्किएको छ । यो वर्ष गहुँ रोप्ने याम सकिएकाले बाँकी रहेको बिउ खपत हुने अवस्था छैन । अहिले केन्द्रले उत्पादन गर्ने मकैबाहेक साग, मुला, मुसुरो, तोरीलगायत विभिन्न बालीको मूल बिउको अवस्था उस्तै छ । जति उत्पादन गर्छ त्यति बिक्री हुने अवस्था छैन । गत वर्षसम्म यसै गरी थुप्रिने मकैको बिउ यो वर्ष भने उत्पादन भए जति बिक्री भएको छ । 

कृषि अनुसन्धान केन्द्र पाख्रीबासले विभिन्न अनुसन्धानसँगै गुणस्तरीय बिउसमेत उत्पादन गर्ने जिम्मेवारी पाएको छ । कर्मचारी अभाव, आर्थिक समस्यालगायत विभिन्न समस्या भए पनि केन्द्रले बर्सेनि यो कार्यलाई निरन्तरता दिइरहेको छ तर केन्द्रले उत्पादन गरेको बिउ बिक्री गर्न निक्कै समस्या पर्ने गरेको छ । यो वर्षलाई लक्षित गरी उत्पादन गरिएको गहुँ, साग, मुला, मुसुरोलगायतका विभिन्न बालीको बिउ आधाभन्दा बढी बिक्री नभएर पालिकामै थन्किएको अनुसन्धान केन्द्रका कृषि प्राविधिक सबिन विश्वकर्मा बताउनुहुन्छ । “केही वर्षयता बिउ बिक्री नहुने अवस्था आएको छ, पहिले पहिले त बिउका लागि हारालुछ हुन्थ्यो तर अहिले केही वर्षयता खपत हुनै छाडेको छ,” प्राविधिक विश्वकर्मा भन्नुहुन्छ ।

करिब पाँच वर्षअघिसम्म अहिले उत्पादन भएको भन्दा दोब्बर बिउ उत्पादन गर्दा पनि केन्द्रलाई बिउको माग धान्न मुस्किल हुन्थ्यो । बिउका लागि आएको विभिन्न जिल्लाका कृषि विकास कार्यालय तथा समूह बिउ अभावमा रित्तै फर्कनुपर्ने अवस्था थियो । अहिले भने समन्वय अभावका कारण बिउ बिक्री हुन छाडेको कृषि अनुसन्धान केन्द्र पाख्रीबासले जनाएको छ । आफूहरूले प्रत्येक पालिकालाई बिउका बारेमा पत्राचार गरे पनि पालिकाहरूले कुनै चासो नै नदिएको कार्यालय प्रमुख वरिष्ठ वैज्ञानिक तीर्थराज रिजाल बताउनुहुन्छ । “गुणस्तरीय बिउ उत्पादन गर्छौं, बिउ हामी आफैँले कृषकसम्म पु-याउने कार्यक्रम हुन्न, त्यो काम अहिले पालिकाले गर्छन् । हामी पालिकालाई सूचना पनि गर्छौं, केही पालिका बाहेक अधिकांश पालिका सम्पर्कमै आउँदैनन्,” प्रमुख रिजाल भन्नुहन्छ । 

केन्द्रले उत्पादन गरेको बिउ विभिन्न प्रयोगपछि सिफारिस गरिने भएकाले गुणस्तरीय र शुद्ध हुन्छ । मूल्य पनि मूल्य निर्धारण समितिको सिफारिसमा निर्धारण गरी एक रूपता कायम गरिएको हुन्छ तर बाहिर उत्पादन भएका बिउ गणस्तरीय नहुने, मिसावटयुक्त हुनेलगायतका समस्या हुने गरेका छन् । त्यसो त पहिले केन्द्रले उत्पादन गरेको गुणस्तरीय बिउको प्रचारप्रसार गरी कृषकसम्म पु-याइदिने जिल्ला कृषि विकास कार्यालय अहिले कृषि ज्ञान केन्द्र भएको छ । यो अधिकार ज्ञान केन्द्रबाट कटौती भएर पालिकामा आएपछि यो समस्या सुरु भएको हो । अहिले आफूहरूसँग प्रचारप्रसारको कुनै कार्यक्रम नै नभएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगर बताउनुहुन्छ । “प्रदेश सरकार अन्तर्गतको यो कार्यालयमा अहिले अनुदान बाँढ्नेदेखिबाहेकका अन्य कुनै पनि कार्यक्रम नै छैनन् । पहिलेको सम्पूर्ण अधिकार पालिका अन्तर्गतको कृषि शाखामा छ,” प्रमुख राना भन्नुहुन्छ । अनुसन्धान केन्द्रको बिउ गुणस्तरीय, जातीय शुद्धता तथा बाहिर खरिद गरेको भन्दा २० प्रतिशतसम्म उत्पादन बढी लिन सकिने मगर थप्नुहुन्छ ।

अनुसन्धान केन्द्रले आफ्नो कार्यक्षेत्र अन्तर्गतका कोशीका पहाडी तथा हिमाली १० जिल्लालाई लक्षित गरी बिउ उत्पादन गर्दै आएको छ । पालिका अन्तर्गतका कृषि शाखाले बिउ वितरणको कार्य त गर्ने गरेका छन् तर केहीबाहेक अधिकांश पालिकाले अनुसन्धान केन्द्रको बिउ प्रयोग नगरी बाहिरैबाट ल्याएर वितरण गर्ने गरेका छन् । जसको बिउ गुणस्तरीय नहुने, मिसावटयुक्त हुनेलगायतका समस्या कृषकले भोग्न बाध्य छन् । गुणस्तरीय र राम्रो बिउले उत्पादनमा २० प्रतिशतसम्म वृद्धि हुने गरेको केन्द्रका कृषि प्राविधिक बताउँछन् ।