• १३ मंसिर २०८१, बिहिबार

सेजन सदस्यको १६ करोड रुपियाँ बराबरको स्वास्थ्य बिमा

blog

काठमाडौं, फागुन १७ गते । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपियाँ बराबरको स्वास्थ्य बिमा गरेको हो। 

बिहीबार एक कार्यक्रमबिच हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गर्नुभएको हो । यद्यपि पोलिसी फागुन ४ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य बिमाको अवधि एक वर्षको हुनेछ।

पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको क्षमता अभिवृद्धिबाहेक सुरक्षाको लागि समेत संस्था गम्भीर रहेको बताउनुभयो । त्यसैक्रममा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको उहाँले जानकारी दिनुभयो ।  

"हामीले आफ्ना सबै सदस्यको क्षमता अभिवृद्धि लगायत काम गर्दै आएका छौँ, जुन सधैँ कायमै रहन्छ," उहाँले भन्नुभयो , "सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बिमा गरेका छौँ ।" सदस्यको हितमा काम गर्नु संस्था र आफ्नो दायित्व भएको अध्यक्ष ओलीले बताउनुभयो ।

सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सीईओ शाहले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बिमा गर्न पाउनु निकै खुसीको विषय भएको बताउनुभयो । उहाँले सबै नेपाली बिमामा जोडिन आवश्यक रहेको समेत बताउनुभयो । बिमाको महत्वबारे अझै नागरिकलाई बुझाउन नसकिएको शाहको भनाइ छ। बिमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उहाँको भनाइ छ। 

आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता सङ्गठनको हैसियतले सेजनले बिमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने उहाँले आग्रह समेत गर्नुभयो ।