• १३ असोज २०८१, आइतबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

blog

हक्की प्रतियोगितामा प्रतिस्पर्धा गर्दै महिला खेलाडी ।

काठमाडौँ, फागुन १६ गते । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा मङ्गलबार जित निकालेको छ । 

एकेडेमीले मधेश प्रदेशलाई ३–१ गोलले हरायो । विजयी टिमका लागि ‘प्लेयर अफ दि म्याच’ मधु राईले दुई तथा शोभा शर्माले एक गोल गर्नुभयो । मधेशकी शुभमले एक गोल गर्नुभयो । 

प्रतियोगिताको अन्य खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीले जित निकाले । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३–० गोलले हरायो । सुदूरपश्चिमका लागि ‘प्लेयर अफ दि म्याच’ सन्जनाकुमारी भारतीले दई तथा नमिता एसकेले एक गोल गर्नुभयो । 

आर्मीले कोशी प्रदेशमाथि ६–० गोलको जित निकाल्यो । आर्मीको जितमा दम्मरा भट्ट, सरस्वती तामाङ, सीतामाया बालाक्लाभा, कमला चन्द, ममता भट्ट र सीमा खड्काले गोल गर्नुभयो । दम्मरा भट्ट  ‘प्लेयर अफ दि म्याच’ हुनुभयो । 

फागुन १९ गतेसम्म चल्ने प्रतियोगितामा कर्णालीबाहेक ६ प्रदेश, नेपाली सेना तथा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी गरी आठ टोलीको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेता टोलीलाई एक लाख ५० हजार, उपविजेतालाई एक लाख र तेस्रो हुने टोलीलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।