• १३ मंसिर २०८१, बिहिबार

शाकाहारी गाउँको शताब्दी यात्रा

blog

कबिरपन्थहरू मात्र बसोबास गर्ने गाउँको एक घर ।

कविराज घिमिरे

हिले (धनकुटा), फागुन १६ गते । एउटा पूरै गाउँ शाकाहारी छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । त्यसको इतिहास एक शताब्दीको छ भन्दा थप आश्चर्य लाग्न सक्छ । तर धनकुटाको एउटा गाउँले यस्तै शाकाहारी इतिहास बोकेको छ । 

धनकुटाको सहिदभूमि गाउँपालिका–२ को साम्बु गाउँ त्यही शाकाहारी गाउँ हो । त्यहाँ रहेका जुनसुकै जात वा जातिका बासिन्दा शाकाहारमै रहेका छन् । स्थानीय ७४ वर्षीय भरतलाल राईले आफ्नो भान्सामा कहिल्यै मासुका परिकार नपाकेको सुनाउनुभयो । त्यो मात्र होइन; घरमा राँगा, बङ्गुर, हाँस, कुखुरा, परेवा र बाख्रा जस्ता मासुका लागि प्रयोग हुने पशुपन्छीको बासस्थान नै छैन । उहाँले थाहा पाएदेखि नै न घरमा माछामासु भित्रिन्छ न त घरमा गोठ वा खोर बनाइएका छन् । भरतलालको घरअगाडि तुलसीको मठ छ । मठसँगै बाँसका लिङ्गामा सत्यनाम लेखिएका सेता रङका ध्वजा छन् । 

जनजाति समुदायका उहाँले शाकाहारी भोजन र सात्त्विक  जीवनशैली अँगाल्नुभएको छ । “हामी माछामासु नखाने मात्र हैन, मासुजन्य पशुपन्छीसमेत पाल्दैनौँ । किनभने प्राणी प्रेम र अहिंसा हाम्रो मूल मन्त्र हो । यो अहिलेबाट सुरु भएको चलन होइन, पहिलेबाटै यही परम्परा छ,” उहाँले भन्नुभयो । 

छिमेकी रूपलाल राईको पनि संस्कृति–रहनसहन भरतलालसँग मिल्दोजुल्दो छ । जीविकोपार्जनको माध्यम कृषि नै भए पनि उहाँहरूका घरमा मासुजन्य पशुपन्छी पालिँदैनन् । उहाँहरू फलफूल, तरकारी तथा अन्नबाली उत्पादन मज्जाले गर्दै आउनुभएको छ । दुध, दही, महीका लागि गाईभैँसी पाले पनि राँगा पाल्न बर्जित छ । पूजाआजा र वैदिक कार्यमा फूल, फलफूल तथा नरिवल चढाइन्छ । 

रूपलालले भोजभतेरमा पनि मासु र मादक पदार्थ नचल्ने बताउनुभयो । “हामी भोजभतेरमा पनि मासु र मादक पदार्थ चलाउँदैनौँ । शाकाहारी भोजन र सात्त्विक  जीवनशैली अँगाल्नेबाहेक माछामासु, मादक पदार्थ प्रयोग गर्नेहरू कहाँ गएर पनि खाँदैनौँ,” उहाँले भन्नुभयो ।  सहिदभूमि गाउँपालिकामा यस्ता बस्ती पनि छन् जहाँ माछामासु खान त परैको कुरा मासुका लागि प्रयोग हुने पशुपन्छी पनि पालिँदैन । साम्बुगाउँसहित गुर्धम, रातमाटे, सुन्तलाबारी, पोखरे, अखुवाटार, सिरवानीमा १५० परिवारको बसोबास छ । माछामासु बर्जित यी क्षेत्रका प्रत्येक घरमा तुलसीका मठ र सेता ध्वजा देखिन्छन् । बालकदेखि ज्येष्ठ नागरिकसम्म सबैले ठाडो सेतो टीका निधार र घाँटीमा लगाउने गरेका छन् । प्रत्येक दिन बिहान आफ्ना गुरुको पूजा गरिन्छ । 

सन्त कबिरपन्थ अँगालेका त्यहाँका बासिन्दा प्राणी प्रेम र अहिंसाप्रतिको सनातन आस्थामा अडिग छन् । प्राणी हत्या पाप हो; हत्या गर्नुहुँदैन भन्ने विश्वास रहेको स्थानीय यमकुमार राईले भन्नुभयो । “अहिले पशुबलिको विरोध हुने गरेको छ तर हामी त पहिलेदेखि नै यसको विरोधी हाँै । पशुबलि राम्रो संस्कृति नै होइन,” उहाँले भन्नुभयो ।

स्थानीयवासीका अनुसार ती गाउँमा यो प्रचलन सुरु भएको एक शताब्दीअघिदेखि नै हो । त्यसबेला भारत पुगेका पुर्खाले सन्त कबिरपन्थ अँगालेर धनकुटाको आहाले आई यसका बारेमा प्रचारप्रसार गरेपछि केही परिवारले यो प्रचलन मान्न थालेका थिए । त्यहीँबाट झाँगिँदै गई अन्य गाउँमा पनि पुगेको छ । डेढ हजारभन्दा बढी व्यक्तिले यो धर्म मान्ने गरेको बताइन्छ ।