• १६ वैशाख २०८१, आइतबार

७६ हजार बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप

blog

नेपालगन्जमा दादुरा रुबेलाविरुद्धको खोप लगाइँदै । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, फागुन १५ गते । बाँकेका ७६ हजार ७०० भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्यका साथ सुरु गरिएको खोप अभियानको दुई दिनमा बाँकेमा ७६ हजार ७४३ बालबालिकालाई सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठले बताउनुभयो । 

उहाँले फागुन १३ गतेदेखि सुरु गरिएको खोप अभियान अन्तर्गत बाँकेका आठवटै पालिकामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका ३५ हजार ५९० जना बालिका र ४१ हजार १५३ जना बालकलाई खोप लगाइएको बताउनुभयो । 

जिल्लामा खोप अभियान निकै उत्साहजनक रुपमा सुरु भएको जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठले सबैभन्दा बढी कोहलपुर नगरपालिकामा २० हजार ९९४ जना बालबालिकाले खोप लगाएको तथा सबैभन्दा कम नरैनापुरमा तीन हजार ६१६ जनाले खोप लगाएको बताउनुभयो । 

उहाँका अनुसार सोही प्रकारले नेपालगन्जमा १३ हजार ३१७ जना, खजुरामा ११ हजार ९५५ जना, डुडुवामा ६ हजार ७७१ जना, राप्तीसोनारीमा ८ हजार ३०५ जना, बैजनाथमा ७ हजार ७८१ र जानकीमा ४ हजार ४ जना बालबालिकाले खोप लगाएका छन् ।  

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार २७०, कोहलपुर नगरपालिकामा २५ हजार ७१३, बैजनाथ गाउँपालिकामा १९ हजार २२३, राप्ती सोनारी गाउँपालिकामा १८ हजार ६६१, जानकी गाउँपालिकामा १८ हजार १४९, डुडुवा गाउँपालिकामा १३ हजार ७५५ र नरैनापुर गाउँपालिकामा १३ हजार ७७६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । 

सो अभियान अन्तर्गत नौ महिनादेखि पाँच वर्ष मुनिका ४८ हजार ८०१ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार ७६५ जना बालबालिकालाई खोप लगाइने छ । स्वास्थ्य कार्यालयका अनुसार खोप अभियानका लागि जिल्लाभरी एक हजार २९६ जना स्वास्थ्यकर्मी खटिएका छन् । एक हजार २७३ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन भएका छन् । त्यसैगरी ४०५ जना विद्यालय शिक्षक पनि परिचालित छन् ।