• ११ मंसिर २०८१, मङ्गलबार

पाल्पामा मगर दिवसको रौनक (फोटो फिचर)

blog

इमान सिं राना

रामपुर (पाल्पा), फागुन १५ गते । मगर समुदायले आज देशैभर ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पाका १० वटै स्थानीय तहमा अहिले सांस्कृतिक झाँकी प्रदर्शन सहितका कार्यक्रम जारी छ । 

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवम् नेपाल मगर सङ्घको स्थापना भएको अवसरमा फागुन १५ गते राष्ट्रिय मगर एकता दिवस मनाइँदै आएको छ  । नेपाल मगर सङ्घ तथा अन्य समूहले पालिकाहरू सँगको सहकार्यमा कार्यक्रम गरिरहेको नेपाल मगर सङ्घ पाल्पाका अध्यक्ष शान्ति झेंडी थापा मगरले जानकारी दिनुभयो । 

'विविधतामा एकता हुँदै मगर हुनुमा गर्व गरौँ, अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ ४२ औँ मगर एकता दिवस विशेष कार्यक्रम १० वटै पालिका, वडा तथा टोलटोलमा भएको छ । 

कार्यक्रममा मगरी भेषभूषा सहित मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगायतका विभिन्न झाँकी प्रस्तुत गरिएको छ ।  रामपुर नगरपालिकामा एकीकृत मगर उत्थान समाजको १६ औँ वार्षिक उत्सव तथा ४२ औँ राष्ट्रिय मगर एकता दिवस विशेष कार्यक्रम विविध सांस्कृतिक कार्यक्रम सहित चलिरहेको छ । 


मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यका दिवस विशेष कार्यक्रमलाई निरन्तरता दिँदै आएको एकीकृत मगर उत्थान समाजका सहअध्यक्ष नरेन्द्र कुमार जर्घाले बताउनुभयो । दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले सार्वजनिक बिदा दिएको थियो ।  

राष्ट्रिय जनगणना २०७८ का अनुसार पाल्पाको कुल २ लाख ४५ हजार २७ जनसङ्ख्या मध्ये ५३ दशमलव ०३ प्रतिशत मगर समुदायको बसोबास छ ।