• ११ मंसिर २०८१, मङ्गलबार

टेलिमेडिसिनको अनुकरणीय अभ्यास

blog

भोजपुरको एउटा सामान्य परिवारमा जन्मनुभएका ३५ वर्षीय बलवीर राई (परिवर्तित नाम) लाई वैदेशिक रोजगारीमा मलेसिया पुगेको दुई तीन महिनापछि नै मुटुरोगसम्बन्धी लक्षण देखा पर्‍यो ।

काठमाडौँमा मेडिकल पास भएर नै उहाँ मलेसिया पुग्नुभएको थियो । मलेसियाको जोरबारुको सहरी इलाकाभन्दा थोरै टाढाको एक कम्पनीमा उहाँ काम गर्नुहुन्थ्यो । उहाँलाई छाती दुख्ने, मुटु ढुकढुक भइरहने र श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्‍यो । बिरानो ठाउँ, साथीभाइ नयाँ भएकाले तुरुन्तै आफ्नो समस्या बताउन सक्नुभएन तर पीडा बढ्दै गएपछि साथीभाइलाई आफ्नो व्यथा सुनाउनुभयो । कम्पनीमा बिदा लिएरै स्थानीय अस्पतालमा गई राईले स्वास्थ्य जाँच गराउनु भयो ।

केही दिन औषधी सेवन गरेपछि पनि उहाँको स्वास्थ्यमा सुधार भएन । समस्या जस्ताको तस्तै रह्यो । पीडा कम नहुँदा उहाँ केही हतास हुनुभयो । कम्पनीमा नियमित काम गर्न नसक्ने, बिदा लिइरहनुपर्ने भयो । कोठामा पनि एक्लै बस्न रुचाउनु हुन्थ्यो । उहाँको बदलिँदो स्वभाव र स्वास्थ्य अवस्थाका कारण उहाँलाई कम्पनीले फिर्ता पठाउने वा उहाँ आफैँ घर फर्किने परिस्थिति निर्माण भइरहेको थियो । राई आफैँ पनि एक मनले घर फर्किन चाहनुहुन्थ्यो तर ऋण गरेर भर्खरै विदेश पुगेको, परिवारको कमजोर आर्थिक अवस्था र आफ्नो दायित्वलाई सम्झिँदा तत्काल घर फर्किन खोजेको मनलाई उहाँले बाँधेर राख्नुभयो ।

शारीरिक र मानसिक रूपमा कमजोर हुँदै गएको देख्दा कुनै पनि दिन दुर्घटना पो हुन्छ कि भन्ने भयले साथीहरू सशङ्कित हुन्थे । कतै बलवीरले अप्रिय कदम पो चाल्छन् कि भन्ने शङ्का पनि साथीहरूलाई थियो । हृदयाघात भएर कोठामै ढलेँ भने के होला भन्ने चिन्ता पनि उहाँमा थियो । ‘मेडिकल पास भएरै आएको हुँ, यसअघि कुनै समस्या थिएन । पटक पटक चेकजाँच गर्दा पनि समस्या केही छैन भन्छन् तर मेरो मुटु किन यसरी दुख्छ ?’ साथीभाइसँग राईले गुनासो गरिरहनुहुन्थ्यो । उहाँको समस्या घरलाई पनि थाहा थियो । त्यसैले घरपरिवारलाई पनि चिन्ता थियो ।

यसैबिच काठमाडौँस्थित नेसनल कार्डियाक सेन्टरको टेलिमेडिसिन सेन्टरबाट सेवा लिइरहेका एक व्यक्तिसँग बलवीरको भेट भयो । उनले त्यहाँ सम्पर्क गर्न सुझाव दिए । तत्कालै बलवीरले भाइबरबाट नेसनल कार्डियाक सेन्टरको टेलिमेडिसिन सेन्टरमा सम्पर्क गरी आफ्नो समस्या बताउनुभयो । मेडिकल टिमले उहाँको समस्या सुनेपछि मलेसियामा चेकजाँच गरेका सबै मेडिकल रिपोर्टहरू माग्यो । भिडियो कलमार्फत प्रत्यक्ष संवाद पनि भयो । मलेसियामा जाँच गरिएको मेडिकल रिपोर्टको अध्ययन र बलवीरको व्यक्तिगत तथा स्वास्थ्य समस्या सुनेपछि नेसनल कार्डियाक सेन्टरका विशेषज्ञहरू उहाँलाई मुटुरोगभन्दा पनि तनावका कारण समस्या भएको निष्कर्षमा पुगे किनकि मुटुरोगका लागि जाँच गरिएका रिपोर्ट सबै ‘नर्मल’ थिए । सुर्तीजन्य पदार्थ नखाने, तौल पनि बढी नभएको, परिवारका अन्य सदस्यलाई हालसम्म मुटुको समस्या नदेखिएको, प्रशस्त शारीरिक गतिविधि गरी रहेकाले मुटुरोग होइन भन्ने निष्कर्षमा पुगेर मेडिकल टिमले सोही अनुसार स्वास्थ्य परामर्श दियो ।

सम्भवतः मलेसियाका चिकित्सकले पनि  त्यस्तै प्रकारको स्वास्थ्य परामर्श दिएको हुनु पर्छ तर भाषाको समस्याले त्यहाँका स्वास्थ्यकर्मीले भनेको कुरा उहाँले बुझ्नुभएन वा आफ्नो समस्या खुलस्त भन्न सक्नुभएन, जसले गर्दा आफू मुटुरोगी भएको भए बोकेर महिनौँसम्म त्रासमा बस्नु भयो ।

नेसनल कार्डियाक सेन्टरका चिकित्सकले उहाँलाई मुटुरोग नभएको कुरा प्रस्टसँग बुझाएपछि बलवीरको तनाव कम हुँदै गयो ।  क्रमशः सहज महसुस गर्दै जानुभयो । थप औषधीको सेवनबिना उहाँको समस्या बिस्तारै हट्दै गयो । स्वास्थ्य समस्या हटेपछि कम्पनीमा नियमित काम गर्न थाल्नुभयो, जसले गर्दा समय अगावै घर फर्किनुपर्ने बाध्यताको अन्त्य भयो । अहिले बलवीरको स्वास्थ्य समस्याबारे स्वयम् आफैँ, परिवार र साथीभाइसमेत ढुक्क छन् । यो एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता कैयौँ घटनामा टेलिमेडिसिन सेवा प्रभावकारी बन्न पुगेको छ । नेसनल कार्डियाक सेन्टरका टिमको एउटा सानो प्रयासले धेरै व्यक्तिको पारिवारिक, आर्थिक एवं सामाजिक क्षति हुनबाट जोगिएको छ । 

वैदेशिक रोजगारका निम्ति धेरै नेपाली विदेशमा छन्, जहाँ भाषा र आर्थिक समस्याका कारण उनीहरूले स्वास्थ्य सुविधा भएर पनि उपयोग गर्न सकिरहेका छैनन् । यता नेपालमा अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाहिर नै रहेको छ । अहिलेको सूचना प्रविधिको युगमा टेलिमेडिसिनमार्फत संसारको जुनसुकै कुनाबाट स्वास्थ्यकर्मीसँग उचित स्वास्थ्य परामर्श लिन सकिन्छ तर यस्ता काममा अग्रसरता देखाउन सामाजिक सेवाको दायित्वबोध हुनु पर्छ । त्यसमा नेसनल कार्डियाक सेन्टरलगायत संस्था सव्रिmय छन् । सरकारीस्तरबाट पनि केही प्रयास भएका छन् तर त्यो पर्याप्त छैन ।

भौगोलिक विकटता तथा स्वास्थ्य चेतनाको कमीले उचित स्वास्थ्य परामर्श प्राप्त गर्न नसक्दा दुर्घटनासमेत भएका कैयौँ घटना छन् । सुन्दा सामान्य लाग्छ तर विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन टेलिमेडिसिन सेन्टर भरपर्दो माध्यम बनेको छ । काठमाडौँको बसुन्धरामा रहेको नेसनल कार्डियाक सेन्टरले मुटुरोगको उपचारका साथै रोकथाम र जोखिम न्यूनीकरणका लागि जनचेतना जगाउने काम गर्दै आएको छ ।

यहाँ जँचाउन आउने बिरामीको नियमित रेखदेख तथा स्वदेश तथा विदेशमा रहेका अन्य बिरामीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत आधुनिक प्रविधि र दक्ष जनशक्तिबाट टेलिमेडिसिन सेन्टरमार्फत निःशुल्क स्वास्थ्य परामर्श दिँदै आएको छ । सेन्टरमा नियमित चेकजाँच गर्ने बिरामीबाहेक अन्य कैयौँ व्यक्तिले हरेक दिन विभिन्न स्थानबाट सम्पर्क गरी निःशुल्क रूपमा स्वास्थ्य परामर्श लिँदै आइरहेका छन् । 

बिरामीले टेलिफोन, इमेल, ह्वाट्सएप, भाइबरलगायतका माध्यमबाट टेलिमेडिसिन सेन्टरमा आफ्नो समस्या निःशुल्क टिपाउने गरेका छन् । सेन्टरको मेडिकल टिमले तत्कालै सम्बन्धित चिकित्सकसँगको सल्लाहमा सेवाग्राहीलाई स्वास्थ्य परामर्श दिने गर्छ । अहिले विशेष गरी मुटुरोग र यससँग सम्बन्धित पक्षमा मात्रै सेवा प्रवाह भइरहेको छ । युवामा पनि मुटुरोगको जोखिम बढ्दै गएको छ । नागरिकको मुटु बचाउनका निम्ति सेन्टरले उपचारका साथै जोखिम न्यूनीकरणका लागि विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर, सचेतनामूलक कार्यक्रम, स्वास्थ्यकर्मीलाई तालिम र सञ्चारकर्मीलाई प्रशिक्षणसमेत दिइरहेको छ । 

Author

सुस्मिता श्रेष्ठ