• १९ असोज २०८१, शनिबार

१२ हजार बढी सवारी साधन कारबाहीमा

blog

मीना कंडेल

कावासोती, माघ १० गते । पूर्वी नवलपरासीमा ६ महिने अवधिमा १२ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । साउनदेखि पुस मसान्तसम्मको पछिल्लो ६ महिनामा १२ हजार ८ सय ४७ सवारी कारबाहीमा परेका हुन् । 

कारबाहीमा परेका सवारी साधनबाट एक करोड ६ लाख २२ हजार ५ सय राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्युतराज आचार्यले जानकारी दिनुभयो । 

जसमा मादक पदार्थ सेवन गरी गाडी चलाउने दुई हजार तीनसय २३ सवारी चलाकलाई पक्राउ गरिएको र उनीहरूबाट २४ लाख ३० हजार राजस्व सङ्कलन भएको प्रमुख आचार्यले बताउनुभयो । सवारी साधन दुर्घटनामा पर्दा यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभरलोड, चौपाया, यान्त्रिक गडबडी र सडकका कारणले बढी सवारी दुर्घटना हुनेगरेको प्रहरीको भनाइ छ । 

यसको नियन्त्रण र न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले ६ महिना अवधिमा चालकहरूको स्वास्थ्य परीक्षण अभ्यास, चिकित्सकको संलग्नतामा घटना स्थलमै पुगेर उपचार अभ्यास, साना तथा ठुला सवारी साधनमा स्टिकर टाँस्ने, आँखा शिविरलगायतका दुर्घटनासम्बन्धी सचेतनामूलक अभियान सञ्चालन गर्दैआएको छ । 

दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ, मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता गाउँ–गाउँमा, चोक–चोकमा, विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम र घुम्तीहरूमा रिफ्लेक्टिभ स्टिकरहरू टाँसजस्ता कामलाई थप प्रभावकारीरुपले अगाडि बढाउने लक्ष्य रहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।  

 दुर्घटनामा २१ को ज्यान गयो 

यो छ महिने अवधिमा जिल्लाका विभिन्न स्थानमा गरी ५२ वटा दुर्घटना भएका छन् । उक्त सवारी दुर्घटनामा परी २१ जनाले ज्यान गुमाएका छन् । प्रमुख आचार्यका अनुसार ४० जना गम्भीर घाइते र २६ जना सामान्य घाइते भएका छन् । जिल्लाको आठवटा पालिकामध्ये सबैभन्दा बढी पहाडी भेगमा हुनेगरेको छ ।

सवारी चालकको लापरबाही र बन्दै गरेको सडक दुर्घटनाको मुख्य कारण बनेको छ । सडक निर्माणको काम सुरु गरेको वर्सौँ बित्दा पनि अहिलेसम्म पनि सडकको स्तरोन्नति हुन सकेको छैन । ट्राफिक प्रमुख आचार्यले सवारी चालकको लापरवाहीले पनि दुर्घटना हुनेगरेको बताउनुभयो । 

तीव्र गतिमा सवारी हाँक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, आवश्यकताभन्दा धेरै यात्रु राखेर सवारी चलाउने र सवारी अनुमतिपत्र नभएका चालकले गाडी चलाउँदा दुर्घटना हुनेगरेको उहाँले बताउनु भयो । 

दुर्घटना घटाउन रिफ्लेक्टिभ स्टिकर 

नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टिभ स्टिकर टाँस्ने एक महिने अभियान सकिएको छ । चिसो मौसम सुरु भएसँगै बढ्दो हुस्सु र रातिको बेला भिजिबिलिटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको जनाएको छ । 

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले ट्रिपर, लामो तथा छोटो दूरीका सवारी साधन, ट्याक्टर, अटो रिक्सा, साइकल, ठेलागाडामा रिफ्लेक्टिभ स्टिकर टाँस गरेको थियो । विभिन्न स्थानमा ब्याक लाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने रिफ्लेक्टिभ स्टिकर टाँसेका हुन् । 

अभियानमा दुई हजार चारसय ६९ रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ । जसमध्ये टिप्पर २६४, ट्रक २६७, बस ११८, जिपकार १३७, मोटरसाइकल १२३ र १५ विद्यालयका विद्यार्थीले चढ्ने ९४८ साइकलसहित अन्यमा ११३० मा रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान चलाएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिकसम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकलाई सम्मान गर्दै सवारी साधन चलाउँदा अनिवार्य रूपमा सिटबेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरू सेवनगरी सवारी साधन नचलाउन, तीव्र गतिमा सवारी साधन नचलाउन सचेतनामूलक सन्देश दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरहरि रेग्मीले बताउनुभयो ।