• १९ असोज २०८१, शनिबार

रोङमा कला–साहित्य महोत्सव हुने

blog

लोपोन्मुख लाप्चा समुदायको बसोबास रहेको इलामको रोङ गाउँपालिका– ६ जिर्मले । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, माघ १० गते । लोपोन्मुख लाप्चा समुदायको बसोबास रहेको इलामको रोङ गाउँपालिका–६ मा कला–साहित्य महोत्सव आयोजना गरिने भएको छ । 

कृषिमा आधारित जीवनशैली, लाप्चासहित राई, लिम्बू, तामाङ, भुजेल, नेवारआदि समुदायको बसोबास रहेको छ । उनीहरूको रीतिरिवाज, कला र संस्कृतिलाई समेटेर महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष सत्यम राईले बताउनुभयो । 

आगामी माघ २७ गतेदेखि माघ २९ गतेसम्म आयोजना गर्न लागिएको  महोत्सवले स्थानीयको आर्थिक पाटोसँगै वडा ६ मा रहेका पर्यटकीय स्थललाई उजागर गर्न सहयोग मिल्ने अपेक्षा गरिएको राईले बताउनुभयो ।

महोत्सवमा यहाँका विभिन्न जाति र संस्कृतिका झाँकीसमेत प्रदर्शन गरिने छ । स्थानीय कला, साहित्यको संरक्षण गर्न स्थानीय कलाकार, साहित्यका प्रतिभाको खोजी गर्ने र बाहिरका साहित्यकार, चित्रकार, लेखकको समेत उपस्थिति गराउने लक्ष्य राखिएको बताइएको छ । 

महोत्सवमा अलैँची, अदुवा, कुचो, सुन्तलालगायतका कृषि वस्तुहरूको आधुनिकीकरण र सुध्रिँदो कृषिमा आधारित जीवनशैलीलाई नजिकबाट बुझ्न सकिने बताइएको छ । महोत्सव अवधिभरमा साहित्यिक बहस, चित्रकला, कविगोष्ठी आदि विषयवस्तुहरू राखिएको आयोजकको भनाइ छ ।