• १९ असोज २०८१, शनिबार

यात्रु चढाउने होडले सवारी दुर्घटना बढ्दै

blog

लिलाधर वली
घोराही, माघ १० गते  । 
दाङमा केही दिनअघि तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बसले दुधरासमा स्कुले बालकलाई ठक्कर दियो । भे १ ख ३६९७ नम्बरको बसको ठक्करबाट जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत सागर चौधरीको घटनास्थलमै मृत्यु भयो ।

विद्यालय क्षेत्रमा भएका यो दुर्घटना बसको तीव्र गतिका कारण निम्तिएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार यो दुर्घटना तीव्र गतिका कारण भएको थियो । प्रहरी नायब उपरीक्षक मल्लका अनुसार घोराही आउँदै गरेको उक्त बस यात्रु खोस्नका लागि तीव्र गतिमा थियो । त्यो बसभन्दा अगाडि अर्को बस थियो ।

अगाडिको बसलाई उछिनेर यात्रु चढाउनका लागि पछाडिको बस चालकले बसको गति बढाए तर तीव्र गतिमा रहेको बसले विद्यार्थीलाई ठक्कर दिन पुग्यो । प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, ‘‘अगाडि रहेको बसलाई उछिनेर यात्रुहरू खोस्नका लागि चालकले बसको गति बढाउँदा सडकमा हिँडिरहेका विद्यार्थीलाई बसले ठक्कर दिन पुग्यो ।’’

यसैगरी, माघको ५ गते तुलसीपुरमा बस दुर्घटनामा पर्‍यो । नारायणघाटबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ७ ख ३५७६ नम्बरका बस तुलसीपुर उपमहानगरपालिका–७ मोतीपुरमा दुर्घटनामा परेको हो । शुक्रबार राति ८ बजेतिर दुर्घटनामा परेको बसका कारण पनि तीव्र गति रहेको उहाँ बताउनुहुन्छ । रातिको समयमा तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट गइरहेको मोटरसाइकलको फोकस लाइटका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यी प्रतिनिधि मूलक घटनाका उदाहरण मात्रै हुन, जिल्लामा हुने अधिकांश बस दुर्घटनाका कारण भनेकै यात्रु खोसाखोस गर्ने हुने गरेका छन् । विशेष गरी स्थानीय रुटमा चल्ने यात्रुवाहक बसको यो प्रतिस्पर्धाले यात्रुसँगै पैदल यात्रुहरूलाई ज्यानको जोखिममा पारिरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, ‘‘जिल्लाको दुर्घटनाको अवस्था हेर्ने हो भने यात्रु कसरी चाँडै चढाउने भन्ने प्रतिस्पर्धाका कारण देखिन्छ । यात्रु चढाउने होडका कारण ओभरटेक गर्ने प्रतिस्पर्धा चल्छ अनि तीव्र गतिका कारण दुर्घटना भइरहेका छन् ।’’

स्थानीय रुटमा चल्ने सवारी साधन पालैपालो छुट्ने गरी ‘क्यु सिस्टम’ लागू गरिएको छ तर अगाडि छुटेकोभन्दा पछि छुटेको बस यात्रु खोस्न तीव्र गतिमा ओभरटेक गर्ने प्रवृत्ति जिल्लामा देखिने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘क्यु सिस्टम त छ तर बस छुटेपछि बाटोमा ओभरटेक गरेर यात्रु खोस्ने प्रवृत्ति रहेको छ । यसको नियमनका गर्न जरुरी रहेको छ ।’’ त्यसो त सडकमा सवारी साधनको चाप बढिरहेको छ तर सडकको चौडाइ भने बढेको छैन । साँघुरा सडकमा कुद्ने सवारी साधनको तीव्र गतिका कारण पनि दुर्घटना भइरहेका हुन्छन् ।

गति नियन्त्रण नै दुर्घटना न्यूनीकरणको प्रमुख उपाय रहेको भन्दै जिल्लामा ‘टाइमकार्ड’ लागू गर्ने निर्णय समेत भएको छ । टाइमकार्ड लागू भएपछि गति नियन्त्रण हुने र दुर्घटना न्यूनीकरण हुने प्रहरीको आङ्कलन छ । टाइमकार्ड लागू गर्ने निर्णय भए पनि यसको कार्यान्वयन भने अझैसम्म हुन सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार टाइमकार्ड लागू गर्नका लागि खाका बनेको र यो खाकाको विषयमा यातायात व्यवसायीसँग छलफल गरेर यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक किरणप्रकाश मल्लले भन्नुभयो, ‘‘टाइमकार्ड कसरी लागू गर्ने भनेर सामान्य खाका बनाएका छौँ । अब यातायात व्यवसायीहरूसँग बसेर यसलाई अन्तिम रूप दिने छौँ ।’’

उहाँका अनुसार यातायातका साधनको अधिकतम गति अनि चेकजाँचको प्रबन्ध कसरी मिलाउने भन्ने सम्बन्धमा अन्तिम निर्णय हुन बाँकी रहेको र यो टुङ्गिए लगत्तै टाइमकार्ड लागू हुन्छ ।

जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ९२ बढी दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ को पुससम्म जिल्लाका विभिन्न स्थानमा भएका ९२ दुर्घटनामा परी ४० जनाको मृत्युभएको छ भने एक सय पाँच जना गम्भीर तथा ६४ जना सामान्य घाइते हुनुभएको छ ।

बढ्दो सवारी साधनको चाप, तीव्र गति र साँघुरो सडकका कारण जिल्लामा दुर्घटनाको अवस्था भयावह बन्दै गएको देखिन्छ । गत वर्ष जिल्लामा एक सय ४८ सवारी दुर्घटनामा ५५ जनाको मृत्यु भएको थियो । जसमा एक सय ४८ जना गम्भीर र एक सय १२ जना सामान्य घाइते भएका थिए ।