• २१ वैशाख २०८१, शुक्रबार

बिजुली पाउन भतेर लाउनुपर्ने

blog

बोमलाल गिरी

नवलपुर, माघ ७ गते । अरू समय यतिबेला टहटह घाम लाग्ने भए पनि जाडोको समय भएकाले गाउँ नै हुस्सुले ढाकेको छ । तत्काल हुस्सु फाटेर घाम लाग्ने अवस्था पनि देखिएको छैन । नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. ४ देउरालीमा रहेको रुपिसरा पुलामीको होटलभित्र बिहान ११ बजे पनि तीन वटा बिजुलीका बल्ब झलमल्ल बलेका छन् । दिउँसो पनि बत्ती बालिएको अँध्यारोकै कारण भने होइन । पुलामीको मात्र होइन, देउरालीका सबै घरमा दिनभरि नै बत्तीको उज्यालो छ ।

यहाँ यसरी दिनभरि बिजुलीको अनुहार देख्न पनि विशेष अवसरै जुर्नु पर्छ । आज त्यस्तै अवसर जुरेको छ । स्थानीय रमानसिंह अस्लामीमगरले आफ्नी छोरी अन्माएर पठाएको खुसियालीमा गाउँमा दिनभरि बिजुली छोडिएको छ । यहाँका बासिन्दा बिजुलीको पर्खाइमा बसेको वर्षौं भइसकेको छ । अझैसम्म गाउँमा राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । सुगम जिल्लाको दुर्गम मानिने बुलिङटारका स्थानीयले देशाखोलाबाट निकालेको लघुजलविद्युत् आयोजनाबाट बिजुली पाएका छन् । अरू बेला साँझ ६ देखि बिहान ६ बजेसम्म मात्र लघुजलविद्युत्को बिजुली दिइन्छ । तर दिउँसो बिजुली बल्न भने विवाह, ब्रतबन्ध, भोजभतेर अथवा चाडपर्व नै कुर्नुपर्ने रुपिसराले बताउनुभयो । 

यसरी विशेष अवसरमा दिइएको बिजुलीको रकम उपभोक्ताले तिर्नु पर्दैन । बरु जसले बिजुली माग गरेको हो, उसैले पावरहाउसमा बस्ने अपरेटरलाई खाना खर्चस्वरूप दिनको सात सय रुपियाँ तिर्नु पर्छ । अपरेटरले राति काम गरेको भने छुट्टै तलब पाउने गर्छन् । यो पटक भने छोरीको विवाहका लागि रमानसिंहले रकम तिर्नुभएको छ । 

आयोजनाका कोषाध्यक्ष मुपाल लुङ्गेलीमगरले चाडपर्व, विवाह, ब्रतबन्ध पर्‍यो र त्यही अनुसारको माग भयो भने पावरहाउसबाट दिउँसो पनि बिजुली दिइने गरिएको बताउनुभयो । राति बालेको बिजुलीको एउटा बल्बको २५ रुपियाँ तिर्नु पर्छ । दिउँसोमा सधैँ चाहेको बेला बिजुली नपाए पनि राति मात्र पाउने र हरेक बल्बको २५ रुपियाँ मात्र तिर्नुपर्ने भएकाले राष्ट्रिय प्रसारणभन्दा सस्तोमा उपभोक्ताले बिजुली प्रयोग गर्न पाइरहेका छन् । 

आयोजनाका कोषाध्यक्ष मगरले अर्खला लघुजलविद्युत् आयोजनाबाट २६ किलोवाट विद्युत् निकाली तीन सय घरधुरीलाई वितरण गरिएको जानकारी दिनुभयो । वर्षौं कुर्दा पनि राष्ट्रिय प्रसारण लाइनले देउराली गाउँलाई नछुने देखेपछि स्थानीय अर्को लघुजलविद्युत् उत्पादनमा लागे । देवचुल–पानीघाट लघुजलविद्युत् उपभोक्ता समितिको पावरहाउसबाट ३४ दशमलव ५ किलोवाटको बिजुली निकालियो ।  उहाँका अनुसार अहिले बुलिङका झन्डै चार सय घरधुरीलाई बिजुली बाल्न पुगेको छ । 

बिर्सियो चुनावी प्रतिबद्धता

सस्तो परे पनि राष्ट्रिय प्रसारणको महत्व धेरै छ । अरू बेला दिउँसो लघुजलविद्युत्को बिजुली नपाउने भएकाले टेलिभिजन, रेफ्रिजेरेटर चल्ने कुरै भएन । रातमा सकेसम्म खाना पकाउनका लागि राइस कुकर प्रयोग नगर्न भनिएको छ । तर पाएसम्म स्थानीयले राइस कुकरमै भात पकाउँछन् । 

स्थानीय युवा सविन आलेले आक्रोशित हुँदै भन्नुभयो, “नपकाएर के गर्नु ? राष्ट्रिय प्रसारणको लाइन आउला भन्ने आस मात्र भयो । नेताहरू सधैँजसो चुनावमा बिजुली पु¥याइदिने आश्वासन मात्र देखाउँछन् । प्रतिबद्धता पूरा गर्ने कहिल्यै होइन ।”

दिउँसोमा पनि बत्ती बाल्नका लागि स्थानीय केहीले सोलार बत्ती जडान गरेका छन् । बुलिङटार–२ का अध्यक्ष कमलराज बकावलले हुनेखानेले सोलार जडान गरेको र अन्य व्यक्ति राष्ट्रिय प्रसारण लाइनको पर्खाइमा रहेको बताउनुभयो । उहाँका अनुसार बिजुलीको समस्या माथिल्लो भागभन्दा पनि कोरिडोरले छोएको जिल्लाको तल्लो भागमा बढी छ । माथिल्लो भागमा सुन्तला, अदुवा, अम्रिसो, आलु आदिबाट आम्दानीको स्रोत राम्रो भएकाले पनि तल्लो भागका स्थानीय बढी समस्यामा रहेको उहाँको भनाइ छ । 

त्यस्तै वडा नं. १ का अध्यक्ष दिलबहादुर सूर्यवंशीका अनुसार १ र २ वडामा राष्ट्रिय प्रसारण लाइन शून्यमा छ । त्यसैले सौर्यबत्तीका लागि पालिकाले पनि सहयोग गरेको उहाँले बताउनुभयो । 

यो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइराला चार पटकसम्म प्रतिनिधि सभामा निर्वाचित हुनुभयो । यसै क्षेत्रबाट २०७४ मा प्रदेश सभा चुनावमा निर्वाचित भएर कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नुभयो । गत २०७९ को निर्वाचनबाट प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेस नवलपुरका जिल्ला सभापतिसमेत रहनुभएका महेन्द्रध्वज जिसी अहिले मन्त्री हुनुहुन्छ । हरेक चुनावमा उहाँहरू सबैको प्रतिबद्धता यो पालिकालाई राष्ट्रिय प्रसारण लाइनसँग जोड्ने हुन्छ ।

“नेताहरूले हरेक चुनावमा राष्ट्रिय प्रसारण लाइनको मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गर्दै चुनाव जित्ने गर्नुभएको थियो,” स्थानीय शिक्षक लोकप्रसाद रामदामले भन्नुभयो, “तर जितेपछि चुनावका बेला उठाएका वाचा बिर्सने प्रवृत्ति सबैमा देखियो ।”

अहिले प्रगतिनगरको सबस्टेसनबाट जोडेर अर्खलाको पोखरीमा सबस्टेसन बनाउने काम भइरहेको छ । आधाभन्दा बढी काम सकिएको बुलिङटार–४ का अध्यक्ष मीनबहादुर आलेले बताउनुभयो । “अहिले ट्रान्समिसनको काम भइरहेको र छिट्टै राष्ट्रिय प्रसारणले छुनेमा सबै आशावादी छौँ,” उहाँले भन्नुभयो ।