• १३ साउन २०८१, आइतबार

नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

blog

भारतको नानपारामा भएको बैठकमा दुई देशका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा अधिकारीहरुको बैठक ।

गजेन्द्र गुरुङ

खजुरा, माघ ६ गते । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको बहराइचमा सम्पन्न भएको छ । बाँके र बर्दियासँग सीमाना जोडिएको भारतको बहराइच जिल्लाको नानपारामा शनिबार एकदिने संयुक्त बैठक सम्पन्न भएको हो ।

बाँके र बर्दिया जिल्लासँग सीमाना जोडिएको भारतको बहराइच जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट (डिएम) मोनिका रानीको निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरुसँग शनिबार एकदिन भारतको नानपारामा संयुक्त काउन्टर पार्टस् बैठक सम्पन्न भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

बहराइच जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट (डिएम) मोनिका रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीहरु बहराइचका जनपद प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तथा सीमा सुरक्षा बल (एसएसबी) तर्फबाट तीनवटा बटालियनका प्रमुखहरुसँगको बैठकमा नेपालको तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरलेलको नेतृत्वको सुरक्षा अधिकारीहरुले भाग लिनुभएको थियो । 

नेपालका तर्फबाट बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास श्रेष्ठ र बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधिर शाही, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर शाही सहभागी रहनुभएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । 

माघ ८ गते (२२ जनवरी) का दिन भारतको अयोध्यामा हुने श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान र २६ जनवरीका दिन हुने भारतको गणतन्त्र दिवसको समयमा सुरक्षा एवं सुदृढ कानुनी व्यवस्था बनाउने (सेक्युरिटी, ल र अर्डर) विषयमा दुई देशका सीमा सुरक्षा अधिकारीबिच छलफल भएको बताइएको छ ।

उक्त अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ उपस्थित हुनुहुने भएकाले नै सीमा क्षेत्रमा सुरक्षा अवस्था कडा बनाई हुनसक्ने घुसपैठ तथा कुनै पनि भवितव्य हुन नदिनका लागि भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीसमक्ष अनुरोध गरेको छ ।

नेपाली पक्षको नेतृत्व गर्नुहुँदै बाँकेका प्रजिअ पोखरेलले माघ ८ गते अयोध्यामा हुने श्रीराम भूमि प्राण प्रतिष्ठा कार्यक्रम र माघ १२ गते हुने गणतन्त्र दिवसको अवसरमा सीमा क्षेत्रमा सुदृढ सुरक्षा व्यवस्था बनाई राख्ने विषयमा सिमावर्ती दुबै तर्फका सुरक्षा अधिकारीहरुले आपसी समन्वयका साथ काम गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच, गस्ती बढाउनेजस्ता विषयहरुमा छलफल भएको छ ।

बैठक सकिएपश्चात् दुबै देशका सुरक्षा अधिकारीहरुले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ र जमुनाह नाकाको स्थलगत अनुगमन तथा निरीक्षण समेत गर्नुभएको थियो ।