• १८ असार २०८१, मङ्गलबार

शैक्षिक गुणस्तर सुधार गर्न कार्यशाला

blog

सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा शैक्षिक गुणस्तर सुधार कार्यशालामा सहभागीहरु । तस्विर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र (सुनसरी), माघ ६ गते । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा दुई दिने शैक्षिक गुणस्तर सुधार कार्यशाला सञ्चालन गरिएको छ । 

कार्यशालामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई शैक्षिक गुणस्तर अभिवृद्धि तथा विकाससम्बन्धी प्रशिक्षण दिइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शिक्षकहरुलाई उत्प्रेरित गराउन कार्यशालाको आयोजना गरिएको कोशी टप्पु सिकाई थलो (लर्निङ्ग ग्राउण्डका) अध्यक्ष राजकुमार सिंहले जानकारी दिनुभयो ।

सिकाइमा स्थानीयस्तरमा भएका स्रोत सामग्रीको प्रयोग र विद्यार्थीलाई स्थानीय पर्यावरणको बारेमा समेत जानकारी गराउन कार्यशालामा थप सहजीकरण गर्ने जनाइएको छ । 

आरक्षको मध्यवर्ती क्षेत्रमा जीविकोपार्जन, संरक्षण र शिक्षामा काम गर्दैआएको कोशी टप्पु सिकाइ थलो संस्थाको आर्थिक सहयोगमा वराहक्षेत्र वडा १० को आयोजनामा कार्यशाला सञ्चालन गरिएको थियो । 

पहिलो चरणमा वडा १० क्षेत्रमा रहेका छ वटा सामुदायिक विद्यालयका ७० जना शिक्षकहरुको सहभागिता रहेको वडाध्यक्ष तेजबहादुर गुरुङ्गले जानकारी दिनुभयो । मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न नमूना कार्यक्रमका रुपमा पहिलो पटक कार्यशाला सञ्चालन गरिएको कोशी टप्पु सिकाइ थलो संस्थाले जनाएको छ । 

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न कार्यशालाले सहयोग गर्ने वराह क्षेत्र नगर प्रमुख रमेश कार्कीले बताउनुभयो । प्रारम्भिक बाल कक्षादेखि माविसम्मका शिक्षकहरु कार्यशालामा सहभागी भएका छन् । 

कार्यशालामा सहभागी शिक्षकहरुलाई सैद्धान्तिक र प्रयोगात्मक विधिबाट सहजीकरण गरिने जनाइएको छ । कार्यक्रममा वराहक्षेत्र नगर शिक्षा प्रमुख देविन्द्रबहादुर मल्ल, प्रधानाध्यापक चुमामणि खनालको उस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका निवृत्त उपसचिव भुपेन्द्रप्रसाद कोइरालाले गर्नुभएको थियो ।