• १३ साउन २०८१, आइतबार

बेपत्ता रहेका युवक आठ दिनपछि भेटिए

blog

भारतीय प्रहरीको सहयोगमा आठ दिनपछि फेला परेका युवकसँग आफन्त र प्रहरी । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, माघ ६ गते । भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीको सहयोगबाट ती युवकको भारत जरवलरोडबाट आठ दिनपछि उद्धार गरिएको युवकका आफन्तले जनाएका छन् । 

भारतको लखनउस्थित राम मनोहर लोहिया अस्पतालमा दाङ ढिकपुर –४ निवासी प्रकाश मल्लको उपचार भइरहेकाले उहाँको कुरुवा बस्नु भएका मल्लका भतिज ३८ वर्षीय ईश्वर शाह पुस २७ गते साँझबाट हराउनु भएको थियो । 

उपचारका क्रममा प्रकाश मल्लको पुस २७ गते साँझ निधन भएपछि शोकले विक्षिप्त भई बेपत्ता भएका शाहलाई भारतीय प्रहरीको सहयोगमा भारतको जरवलरोडमा फेला पारेर नेपाल ल्याइएको शाहकी दिदी तथा समाजसेवी माधवी शाहले बताउनुभयो । 

उहाँले भाइ हराएपछि उनको खोजी गर्दा लखनउमा नभेटिएकाले खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमुनाहा र भारतको रुपैडिहा प्रहरी थानामा निवेदन दिइएको बताउनुभयो । 

नेपाल प्रहरीका एसएसपी सुशिलसिंह राठौर, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बाेहोरा, जमुनाहा नाकाका प्रमुख नवीन रिजाल, असई कुलबहादुर विक र भारत रुपैडिहा थानाका प्रमुख शमशेर सिंहको सहयोगले आफ्नो भाइ सकुशल फेला परेको समाजसेवी शाहले बताउनुभयो । 

उहाँका अनुसार भारतीय प्रहरी रजनिश सिंहले उनलाई फेला पारेर करमुल्लापुर जरवलरोडस्थित आफ्नो निवासमा राखेका थिए । रुपैडिहा प्रहरीले रुपैडिहादेखि लखनउसम्मको राजमार्गमा पर्ने सबै प्रहरी युनिटलाई हराएका युवकबारे जानकारी गराएको हुँदा उद्धार सहज भएको उहाँको भनाइ छ ।  

उद्धार गरेर नेपालगन्ज ल्याएपछि शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि शाहलाई भर्ना गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले लखनउबाट शाह हराएकाले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा आफन्तको निवेदन परेपछि जमुनाहा नाकामार्फत रुपैडिहा प्रहरीसँग खोजीका लागि आग्रह गरिएकोमा भारतीय प्रहरीको सहयोगले फेला पारिएको बताउनुभयो ।