• १३ साउन २०८१, आइतबार

बाक्लो हुस्सु र शीतलहरका कारण तराईमा जनजीवन कष्टकर

blog

देवरामप्रसाद यादव
सप्तरी, माघ ६ गते  । 
बाक्लो हुस्सु र शीतलहरीका कारण सप्तरीलगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । शनिबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ र शीतलहरसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको हो ।

माघको सुरु सातादेखि सप्तरी लगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । केही दिन अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो । तर अहिले दिनभर बाक्लो हुस्सु लाग्न थालेको छ ।

कठ्याङ्ग्रिँदो चिसोमा पराल ओछ्याएर सुत्न बाध्य दलित तथा अतिविपन्न परिवार प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन बाध्य छन् ।  परालको आगो ताप्ने र परालकै ओछ्यान बनाएर रात बित्ने गरेको महादेवा गाउँपालिका–१ सोनराका धुरन सदा बताउनुहुन्छ ।

महादेवा गाउँपालिका–१ सोनरा मुसहरीकी खजनवति सदाले जाडोका कारण दैनिकी कष्टकर बनेको बताउनुभयो । “बिहानैदेखि घर बाहिर निस्कन मुस्किल भएको छ, दैनिक गरिने कामकाजमा बाधा पुगेको छ ।”, उहाँले भन्नुभयो ।

प्रभावितलाई चिसोबाट जोगाउन पालिका र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको सर्वसाधारणको गुनासो छ । अत्यधिक चिसो तथा शीतलहरका कारण  श्वासप्रश्वास, रुघाखोकी, निमोनियाजस्ता समस्या देखिएको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका प्रमुख डा. मिथिलेश झाले जानकारी दिनुभयो ।

विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट प्रभावित छन् । अत्यधिक चिसोका कारण पशुचौपायालाई समेत समस्या भएको छ । चिसोबाट जोगाउन पशुचौपायाका लागि  गोठमै आगो बाल्ने तथा बोरा ओढाउने गरिएको छ ।

अत्यधिक चिसोका कारण घरपालुवा जनावरमा श्वासप्रश्वास, निमोनियालगायत समस्या देखिएको पशु सेवा विज्ञ केन्द्र सप्तरीका प्रमुख वरिष्ठ पशुविकास अधिकारी डा. प्रभात कुमार झाले जानकारी दिनुभयो ।