• १८ असार २०८१, मङ्गलबार

जनचाहनाअनुरूप काम गर्न विद्यार्थीको सुझाव

blog

शनिबार आयोजित वक्तृत्वकला प्रतियोगितामा सहभागीहरु । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, माघ ६ गते । कैलाली जिल्लाका विभिन्न सामुदायिक स्कुलका विद्यार्थीले मुलुकमा ठुला परिवर्तन भए पनि जनचाहनाअनुरूप काम नभएको बताउँदै शासकहरूले कार्यशैली परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । 

सुदूरपश्चिम प्रदेश सभा दिवसका अवसरमा शनिबार आयोजित नेपालमा लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था विषयक वक्तृत्वकला प्रतियोगितामा अधिकांश विद्यार्थीले सो सुझाव दिएका हुन् । सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नुपर्ने उनीहरूको भनाइ छ । 

त्रिनगर मावि धनगढीको कक्षा ११ मा अध्ययनरत उषाकिरण ज्योतिले तीन तहका सरकारले मनमर्जी रूपमा काम गरिरहेका बताउँदै निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्नेको पहिचान नहुनु दुःखद भएको बताउनुभयो । 

शारदा माविमा कक्षा ८ मा अध्ययनरत अनुषा उपाध्यायले संविधान, ऐन, कानुन बने पनि युवा विदेश जान बाध्य हुनु, विभिन्नखालका अपराधीहरूले शक्तिका आधारमा जेलबाट छुटकारा पाउने अवस्था आउनु ठिक काम नभएको बताउनुभयो ।  

“पहिले एक श्रीपेचवाला थिए, अहिले सयौँ श्रीपेचवाला भए, जनताले आफू सुरक्षित भएको महसुस गर्न पाएनन्” पञ्चोदय माविका विद्यार्थी बरखा चौधरीले गुनासो गर्नुभयो । 

विभिन्न विद्यालयका १५ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा अधिकांश विद्यार्थीले लोकतान्त्रिक गणतन्त्रभन्दा सुन्दर व्यवस्था अर्को नरहेको, तर शासकहरूले काम गर्ने शैली सुधार गर्नुपर्ने बताएका थिए । 

सो अवसरमा प्रदेश सभाका सचिवव देवबहादुर बोगटीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । प्रदेश सभाका उपसचिव तेजप्रकाश जोशीले विद्यार्थीमा देश बनाउनुपर्छ भन्ने छटपटी रहेकोमा खुसी व्यक्त गर्नुभयो । 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले सामुदायिक विद्यालयका विद्यार्थीको तार्किक शक्ति अन्य विद्यालयका विद्यार्थीका भन्दा उच्च रहेको बताउँदै प्रज्ञा प्रतिष्ठानले पनि यस्ता प्रतियोगिता आयोजना गर्ने सोच बनाएको बताउनुभयो । 

प्रतियोगितामा शारदा माविकी कक्षा ८ का धनुषा उपाध्याय पहिलो, पञ्चोदय माविकी कक्षा ९ का बरखा चौधरी दोस्रो, धनगढी नमुना माविकी कक्षा ११ का शर्मिला धानुक तेस्रो, फूलबारी माविका सुशान्त खतिवडा र राष्ट्रिय माविका सरिता महरा चौथो हुनुभयो । 

उहाँहरूलाई प्रदेश सभा दिवसका अवसरमा माघ ७ गते पुरस्कृत गरिने भएको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः १५ हजार, १० हजार, पाँच हजार र तीन–तीन हजार पुरस्कार दिइने प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो ।