• १३ साउन २०८१, आइतबार

दुम्कीवास त्रिवेणी सडकखण्ड हामी खोल्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री पाण्डे

blog

मीना कंडेल

कावासोती, माघ ६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले गण्डकी प्रदेशको आर्थिक विकासका लागि दुम्कीवास त्रिवेणी सडकखण्ड खोल्न आफू लागि परेको बताउनुभएको छ । सडक नखोल्दासम्म गण्डकी प्रदेश भारतसँग जोडिने नाका बन्द रहने भएकाले यो बाटो खोल्न सरकार लागेको बताउनुभयो । नेपाल प्रेस युनियन नवलपुरद्वारा कावासोतीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सो कुरा बताउनुभएको हो ।

दुम्कीवासदेखि त्रिवेणी जोड्ने बाटो निर्माण प्रक्रिया सुरु गर्नका लागि आवश्यक समन्वय भई रहेको भन्दै निर्माणका लागि बजेट अभाव नहुने बताउनुभयो । यसका लागि सङ्घ र प्रदेशले बजेटको प्रबन्ध गर्ने बताउनुभयो । आफू मुख्यमन्त्री भइरहँदा दुम्कीवास त्रिवेणी सडकखण्ड खोलेरै छोड्ने प्रतिबद्ध रहेको बताउनुभयो ।

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये आठ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुञ्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न नसकेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एक मात्र नाका त्रिवेणी भएकाले यसलाई पूर्ण रूपमा उपयोग गर्नु पर्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

दुम्किवास त्रिवेणी सडक निर्माणका लागि सरकारी वन ऐन बाधक रहेको र त्यसलाई सच्याइने बताउनुभएको छ । चितवनको निकुञ्जको बिचबाट सडक बनाएर माडी जाऊ आऊ भइरहेको बताउँदै त्यसको छेउबाट बाटो खोल्न सकिने बताउनुभयो । गण्डकीमा विकास बजेट खर्चको स्थिति न्यून रहेको बताउँदै चाँडै ठेक्का पट्टाको काम सुरु गरेर वैशाख अघि नै भुक्तानी दिने र बजेट खर्च गर्ने स्थिति बनाउन सरकारले काम गरिरहेको बताउनुभयो ।