• ४ जेठ २०८१, शुक्रबार

यु–१९ विश्वकपमा प्रभाव पार्न सक्ने नेपालका खेलाडी

blog

फाइल तस्बिर ।

काठमाडौँ, पुस २९ गते । दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली अहिले दक्षिण अफ्रिकामै तयारीमा व्यस्त छ । नेपालले दक्षिण अफ्रिकामा तीनवटा अभ्यास खेल समेत खेलिसकेको छ । 

विश्वकप अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकपमा प्रभाव पार्न सक्ने चार जना नेपाली खेलाडीको नाम उल्लेख गरेको छ । आइसिसीको दृष्टिमा प्रभाव पार्नसक्ने खेलाडीहरूमा कप्तान देव खनाल, गुलशन झा, अर्जुन कुमाल र दुर्गेश गुप्ता रहनुभएको छ । आसन्न विश्वकपमा नेपालका चार खेलाडीले प्रभाव छाड्न सक्ने आइसिसीले विश्लेषण गरेको हो । 

कप्तान देवले नेपाली सिनियर टोलीबाट समेत १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । उहाँले एक दिवसीयमा दुई सय ५३ रन जोड्दै एकै खेलमा सर्वाधिक ७२ रन बनाउनुभएको छ ।

गुलशनले नेपालका लागि २४ एक दिवसीय अन्तर्राष्ट्रिय र १४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले एक दिवसीयमा २१ विकेट लिनुका साथै चार सय ८८ रन बनाउनुभएको छ । तीन अर्धशतक पूरा गर्नुभएका उहाँले एकै खेलमा सर्वाधिक ६७ रन बनाउनुभएको छ । उहाँले टी–२० मा १२ विकेट लिनुका सार्थ एक सय ४१ रन बनाउनुभएको छ । टी–२० मा उहाँले एकै खेलमा सर्वाधिक ५४ रन बनाउनुभएको छ । 

अर्का ओपनर अर्जुनले यु–१९ अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ । एसीसी एसिया कपमा उहाँले अफगानिस्तानविरुद्ध ९१ रन बनाउनुभएको थियो । विश्वकपअघि शनिबार स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा पनि ३३ रन बनाउनुभएको थियो । फास्ट बलर दुर्गेशले घरेलु प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्दै आउनुभएको छ ।  

यु–१९ विश्वकपमा नेपालको प्रदर्शन विगतमा पनि राम्रो भएको थियो । नेपालले न्यूजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान, जिम्बावे, बङ्गलादेश र आयरल्यान्डजस्ता टोलीलाई हराएको थियो । यसपटक पनि नेपाली टोलीबाट राम्रो आशा गरिएको छ । 

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल २६ तारिखअफगानिस्तानसँग खेल्नेछ । सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो । 

यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया रहेका छन् । समूहमा शीर्ष दुई टोली अर्को चरण (सुपर आठ) मा पुग्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा जगत टमटा हुनुहुन्छ । 

नेपाली यु–१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, दीपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द ।