• ५ जेठ २०८१, शनिबार

अभ्यास खेलमा नेपाल यु–१९ टोली विजयी

blog

काठमाडौँ, पुस २९ गते । यु–१९ विश्वकप अघि खेलिएको अभ्यास खेलमा नेपाल विजयी भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा शनिबार अबेर सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा सात विकेटले हरायो ।

विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेको नेपाली युवा टोलीको अब मङ्गलबार वेस्टइन्डिजसँग अर्को खेल खेल्नेछ । जितको लागि एक सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २९.१ ओभरमा तीन विकेटको क्षतिमा ९९ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । नेपालका अर्जुन कुमाल ३३ र आकाश त्रिपाठीले २९ रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका गुलशन झा र तिलक भण्डारीले तीन तीन विकेट विकेट लिनुभएको थियो । नेपालले दक्षिण अफ्रिकामा यसअघि खेलेको दुई अभ्यास खेलमा पनि जित निकालेको थियो । नेपालले स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

यु–१९ विश्वकप दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुँदैछ । विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।