• १३ साउन २०८१, आइतबार

प्रकाश दाहाल स्मृति ब्याडमिन्टन : प्रिन्स र रसिला च्याम्पियन

blog

उपाधि विजेता प्रिन्स दाहाल र रसिला महर्जन ।

काठमाडौँ, पुस २९ गते । एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ । 

स्पोर्टस् हबको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–० को सोझो सेटमा हराउँदै उपाधि जित्नुभएको हो । पहिलो सेट २१–१६ ले जितेका प्रिन्सले दोस्रो सेटमा पनि प्रफुल्ललाई २१–१६ मा नै रोक्नुभएको थियो । एपिएफका देवराज राना र नेपाल पुलिसका विष्णु कटुवाल तेस्रो हुनुभयो । 

यस्तै महिला एकलतर्फ रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–३, २१–१४ ले हराउनुभयो । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सीमा राजवंशी तेस्रो हुनुभयो । स्थानीयतर्फ आयोजक स्पोर्टस् हबका अनुज तामाङ र सुमित थोकर पहिलो हुनुभयो । पुरुष शीर्ष २० वरीयता बाहेकको युगलतर्फ कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेप च्याम्पियन बन्नुभयो । 

भेट्रान्स ३५ वर्षमाथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडी पहिलो हुनुभयो । ४५ वर्षमाथिको प्रतिस्पर्धामा चन्द्रागिरि ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले बाजी मारेको छ । विजेतालाई पूर्वमन्त्री एवं नेकपा माओवादी नेत्री पम्फा भुसाललगायतले पुरस्कार प्रदान गर्नुभयो ।