• १३ साउन २०८१, आइतबार

पाठेघर क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

blog

स्वास्थ्य शिविरमा परीक्षण गराउन पुग्नुभएका महिला । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस २९ गते । नेकपा (एमाले) बाँकेले आयोजना गरेको पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य शिविरमा २०२ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा नेपालगन्ज २० राँझामा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको पाठेघरको क्यान्सरबारे परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरिएको थियो । 

राजनीति र समाज सेवालाई सँगसँगै लैजाने उद्देश्यले बाँकेका सबै पालिकामा चैतभित्र पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने योजनाअनुसार यो शिविर सञ्चालन गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । 

सो शिविरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका निर्देशक डा. नीरज भट्टराई, क्यान्सर रोग विशेषज्ञ डा. साजन थापालगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।

शिविरमा २०२ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ६ जना महिलाको भिआइए टेस्ट पोजेटिभ देखिएको र ८ जना बिरामी महिलाले फ्लोअप जाँच गराएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका निर्देशक डा. भट्टराईले बताउनुभयो । 

एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्य एवम् स्कुल विभाग सचिव घनश्याम कोइरालाले स्वास्थ्य शिविरको अनुगमन गर्नु भएको थियो । सो अवसरमा केन्द्रीय उपमहासचिव ज्ञवालीले जनताका स्वास्थ्य समस्या चुनौतीपूर्ण रहेको जनाउँदै एमालेजस्तो जिम्मेवार पार्टीले जनताको हरेक समस्या समाधानमा खटिँदै आएको बताउनुभयो । 

सो स्वास्थ्य शिविरमा एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, केन्द्रीय सदस्य तथा सांसद सूर्यप्रसाद ढकाल, दीपा शर्मा, केन्द्रीय सदस्य शान्ति ढकाल, प्रदेश कमिटी सदस्यहरू अशोक कर्माचार्य, मिना ढकाल, हलिम शाह, नेताहरू निरक गुरुङ, नगर अध्यक्ष दतप्रसाद धिताल, स्वास्थ्यकर्मी सङ्घ बाँकेका अध्यक्ष राजन शाहीलगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।