• १३ साउन २०८१, आइतबार

चिसो बढेपछि दाउरा वितरण

blog

नेपालगञ्ज उपमहानगरपालिकामा सामूहिक धुनीको प्रबन्ध मिलाउँदै नगरप्रमुख प्रशान्त विष्टलगायत । तस्विर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, पुस २९ गते । शीतलहरसँगै चिसो बढेपछि बाँकेका विभिन्न स्थानीय तहले सार्वजनिक स्थान तथा चोकमा दाउरा वितरण गरेका छन् । आइतबार बिहान नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँमा दाउरा वितरण सुरु गरिएको हो ।

माघे सङ्क्रान्तिका लागि लक्षित गरी सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था मिलाइएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । नगर मुख विष्टले भन्नुभयो, ‘अब नियमित रुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकमा समेत दाउरा वितरण गरिनेछ ।’ 

शीतलहरको सुरुवातसँगै चिसो अत्यधिक बढेकाले सर्वसाधारणको सहजताका लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको विष्टले बताउनुभयो । नगरप्रमुख प्रशान्त विष्ट, प्रवक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायतले पहिलो दिन बिहान नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गर्नुभएको हो ।

रामलीला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवन चोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्कभित्र, कारकाँदो चोक, विशाल चोक, पीपल चौतारा, खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरा रोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिवमन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, बीपी चोक, बिटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । 

यसैगरी जानकी गाउँपालिकाले पनि विभिन्न स्थानमा दाउरा वितरण गरेको छ । प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौेडेलले सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालय र चोकमा दाउरा वितरण गरिएको जानकारी दिनुभयो । बाँकेमा यसअघि जिल्ला विपद ब्यवस्थापन समितिले पनि विभिन्न स्थानमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था मिलाएको थियो । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शीतलहरबाट नागरकलाई जोगाउन सामूहिक धुनीको प्रबन्ध गरिएको बताउनुभयो ।