• १३ साउन २०८१, आइतबार

शीतलहर छल्न मुसहर समुदायद्वारा दाउरा माग

blog

लहान–१ को नहर किनारमा घुर तापेर बसेका शीतलहर काट्दै मुसहर समुदाय। तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, पुस ३० गते। शीतलहरको चपेटामा परेका विपन्न मुसहर समुदायले दाउरा र न्यानो लुगा माग गरेका छन्। अन्य समुदायको तुलनामा अभावै अभावमा जीवन बिताउने मुहसर समुदाय ९९ प्रतिशत भूमिहीन र हरुवाचरुवा छन्।  

लहान–१२ की शिवकुमारी सदाय भन्नुहुन्छ, ‘‘शीतलहर चलेपछि जटियाहीका मुसहर समुदायलाई ठुलो समस्या भएको छ। घुर ताप्न दाउरा छैन। अझै शीतलहर लम्बिने हो भने हातमुख जोर्न समस्या हुनेछ।’’

सखुवानन्कारकटी गाउँपालिका–२ पटनाका मिसरीया सदायका अनुसार कृषकले यस वर्ष धान काटिने मेसिन प्रयोग गरेर धान भित्र्याएपछि जनजीवनको रूपमा धान मजदुरीको रूपमा जम्मा हुन सकेन। शीतलहरमा निर्माण मजदुरको रूपमा काम गर्न जाऊ भने न्यानो लुगा छैन। ठुलो समस्या आइपुग्यो। गाउँपालिकाबाट मुसहर समुदायलाई कष्टकर जनजीवनलाई सहज बनाउन कुनै राहत आउने छाँटकाँट छैन कसरी बाँच्नु ठुलो समस्या भयो।

लहान–२ को नहर किनारामा बसेका मुसहर समुदाय सहरी क्षेत्रमा ठेला चलाएर निर्माण मजदुरको रूपमा काम गरेर दैनिकी टार्नेहरूको जनजीवन कष्टकर भइरहेको स्थानीय गेनादेवी सदायले पीडा पोख्नुभयो। उहाँको अनुसार शीतलहरबाट जोगिन परालको आगो तापेर जसोतसो समय काटिरहेका छौँ। 

लहान नगर प्रमुख महेशप्रसाद चौधरीसँग दलित विपन्नलाई शीतलहरबाट जोगाउन के गरिरहनु भएको छ भने जिज्ञासामा उहाँले भन्नुभयो, ‘‘नगर सभामा व्यस्त रहेकोले दाउरा र न्यानो लुगा वितरणमा केही ढिलाइ भएकै हो। कम्बल र दाउरा वितरण कार्य चाँडै हुनेछ।’’

शीतलहर बढेपछि सिरहाका १७ वटै पालिकाका शिक्षा शाखाले जाडो बिदा दिएको छ। नरहा गाउँपालिका, गोल बजार नगरपालिका, नवराजपुर गाउँपालिका विष्णुपुर गाउँपालिका डिभिजन वन कार्यालय सिरहा लहानबाट दाउरा खरिद गरी विपन्न बस्तीमा वितरण गरिएको छ। धनगढीमाई नगरपालिका–५ ले न्यानो लुगाको रूपमा मोटो सिरक नै वितरण गरिसकेको छ।

शीतलहर र बाढीको चपेटामा प्रत्येक वर्ष दलित विपन्न समुदाय नै पर्ने गरेको पूर्व जानकारी भए पनि पालिकाको विपद् व्यवस्थापन समितिको पूर्व तयारी नहुनु विडम्बना नै भएको दलित अभियन्ता राम गणेश दासले गुनासो गर्नुभयो।