गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २९ गते । वार्षिक ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । दैनिक करिब २० हजारभन्दा बढी हवाई यात्रुले ओहोरदोहोर गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सङ्ख्यासहित हवाई यात्रुसमेत बढ्दै गएका छन् । प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता रहेको यस विमानस्थलमा सन् २०२३ को १२ महिनामा ८६ लाख बढी यात्रुले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई यात्रा गरेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हाल २१ घण्टा सञ्चालनमा रहेको यो विमानस्थलबाट सन् २०२३ मा ८६ लाख ९१ हजार ४६३ यात्रुले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा लिएका छन् । उहाँले भन्नुभयो, “हाल दिउँसो ३ बजेदेखि ७ बजेसम्म र राति १२ बजेदेखि बिहान ३ बजेको समयमा उडानको चाप कम छ । यो समयमा समेत उडान अवतरणले निरन्तरता पाए हवाई चाप अत्यधिक बढ्ने देखिन्छ ।”
उहाँले बर्सेनि यात्रुको सङ्ख्या बढ्दै गएपछि विगतमा साँघुरो भई भिडभाड हुने अन्तर्राष्ट्रिय टर्मिनलको आगमन, भन्सार र चेक इन क्षेत्रसमेत विस्तार गरिएको तथा अध्यागमन क्षेत्रको समेत विस्तारको तयारी रहेको बताउनुभयो । उहाँले यात्रु सङ्ख्यामा हुँदै गएको बढोत्तरीसँगै विमानस्थलको क्षमता अभिवृद्वि गर्न नयाँ टर्मिनल भवनको खाँचो देखिएकाले विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना अन्तर्गत नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको परियोजना अघि बढेकोे बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १३७ र आन्तरिकतर्फ ४१ लाख ५० हजार ३२६ यात्रुले हवाई सेवा प्रयोग गरेका छन् ।
उहाँले भन्नुभयो, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा झन्डै ८७ लाख यात्रुले हवाई सेवा लिएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ जहाजको उडान सङ्ख्या बढेको, आन्तरिकतर्फ ठुला जहाज भित्रिएको र अन्तर्राष्ट्रितर्फ गन्तव्य विस्तार हुँदा सन् २०२२ को तुलनामा सन् २०२३ मा हवाई यात्रुको ओहोरदोहोर बढ्दै गएको छ ।”
कोरोना महामारीअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९१२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ र महामारीपछि सन् २०२२ भरमा ७९ लाख ५४ हजार ४९५ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरेको उहाँले बताउनुभयो । सन् २०२३ को १२ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा ३१ हजार ४६० पटक अन्तर्राष्ट्रियतर्फको जहाज उडान तथा अवतरण भएको छ । सोही अवधिमा आन्तरिकतर्फ ९६ हजार ९८९ पटक जहाजले उडान तथा अवतरण गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रियतर्फ २२ हजार ९४६ टन कार्गो ओसारपसार भएको छ भने आन्तरिकतर्फ तीन हजार ९८९ टन कार्गो ओसारपसार भएको छ ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ दैनिक तीन सय उडान अवतरण हुँदै आएका छ भने अन्तर्राष्ट्रियतर्फ दैनिक ११० सम्म उडान अवतरण हुँदै आएको छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट ३० वटा वायु सेवा कम्पनीले १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्दै आएका छन् । त्यस्तै आन्तरिकतर्फ जहाज र हेलिकोप्टर गरी १९ वटा वायु सेवा कम्पनीले ३५ वटा विमानस्थलमा हवाई सेवा दिँदै आएको जनाएको छ । हाल देशमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलसहित ५५ वटा विमानस्थल छन् ।