• १३ असोज २०८१, आइतबार

उद्यमसँग जोडिँदै कैदीबन्दी

blog

रमेश विश्वकर्मा 

गुल्मी, पुस २६ गते । गुल्मी कारागारमा रहेका कैदीबन्दीको सिपलाई प्रयोग गरी उद्यमसँग जोड्न थालिएको छ । यस कारागारमा रहेका कैदीबन्दी तथा थुनुवासँग भएको सिपलाई प्रयोग गरी उनीहरूलाई उद्यमसँग जोड्न थालिएको हो ।  यहाँ विगत १८ वर्षदेखि बाँसबाट बनाइने मुडा बुन्ने गरिएकोमा हाल फर्निचरसँगै ढाका उद्योगलाई समेत सञ्चालनमा ल्याइएको छ । गुल्मी कारागारभित्र रहेका कुनै पनि कैदीबन्दीलाई एकअर्कासँग बोल्ने फुर्सद छैन । सबै जना आआफ्नो सिप अनुसारको उद्यममा व्यस्त छन् । कोही बाँस काटेर चिर्दै छन् । कोही नाइलनको डोरी बुन्दै छन् । नजिकै रहेको अर्को ढाका उद्योगमा तान चल्दै छ भने अर्कोतिर फर्निचर उद्योग चलाउँदै छन् । 

यसभित्रको उत्पादन र कार्य देख्दा त्यो कारागार नभई, विभिन्न उपभोग्य वस्तु उत्पादन गर्ने कारखाना हो भन्ने अनुभूति हुन्छ । यहाँको कारागार प्रशासन, आन्तरिक प्रशासन प्रमुख चौकीदार र व्यवस्थापकले पनि कारागारलाई कारखानाकै रूपमा विकास गर्न लागिपरेका छन् । गुल्मी कारागारका आन्तरिक प्रशासन प्रमुख चौकीदारले यहाँ उत्पादित मुडा, ढाका र फर्निचरबाट मासिक सरदर ६० देखि ८० लाख रुपियाँसम्मको कारोबार हुने गरेको बताउनुभयो । 

गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले सुरक्षा निकाय, प्रशासन र आन्तरिक प्रशासनको त्रिकोणात्मक सम्बन्धका कारण कैदीबन्दी तथा थुनुवालाई कारागारभित्रै सिप अनुसारको उद्यमसँग जोड्न सकिएको बताउनुभयो । हरेक महिना प्रतिव्यक्ति कालिगडले मासिक १५ हजार रुपियाँसम्म र सहायकले मासिक आठ हजारदेखि १२ हजार रुपियाँसम्म बुझ्ने गरेको उल्लेख गर्दै यो सबल पक्ष भएको उहाँले बताउनुभयो । 

यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको यस कारागारमा ११८ जना कैदीबन्दी रहेको जेलर पन्थीले बताउनुभयो । अशक्त र बिरामी कैदीबन्दीबाहेक अरू खाली नबसी जानेको सिपलाई प्रयोग गरिरहेको बताउनुभयो । 

बाहिरी कम्पाउन्ड नहुनु, भित्रीको कम्पाउन्ड पनि सानो भएका कारण सहज रूपमा उद्योग सञ्चालन गर्न नपाउनु नै मुख्य समस्या भएको जेलर पन्थीले बताउनुभयो । कैदीबन्दीको सङ्ख्या अनुसार खानेपानीको पनि त्यत्तिकै समस्या रहेको उहाँले उल्लेख गर्नुभयो । 

घरेलु कार्यालयमा यहाँको सिप अनुसारको साना उद्योग दर्ता गरी उद्योग नै सञ्चालन गर्न सकिए अहिलेको अवधारणा नेपाल कारागार ऐन २०७९ अनुसार खुला कारागारकै रूपमा व्यवस्थित गर्न सजिलो हुने भन्दै जेलर पन्थीले सिपमूलक कार्यक्रम सञ्चालन गरेर व्यक्तिलाई व्यस्त राख्न सकिए अपराध घट्दै जाने समेत बताउनुभयो ।