• ६ माघ २०८१, आइतबार

वीरगञ्ज महानगरको बजेट साढे तीन अर्ब

blog

नगर सभाको अधिवेशनमा सहभागी प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायत पदाधिकारीहरू । तस्बिर : गोरखापत्र

दिपकप्रसाद गौतम 

वीरगञ्ज, पुस २५ गते । वीरगञ्ज महानगरको १४औँ नगर सभाको अधिवेशनले चालु आर्थिक वर्षको बजेट २५ करोड रुपियाँ बढाएको छ । बुधबारको बसेको वीरगञ्ज महानगरपालिकाको नगर सभाको अधिवेशनले चालु आर्थिक वर्षको वार्षिक बजेटमा २५ करोड रुपियाँ थप गर्नुका साथै विभिन्न योजना तथा कार्यक्रमहरू परिमार्जन गरेको हो । 

नगर सभाले वार्षिक बजेट तथा कार्यक्रममा परेर पनि कार्यान्वयनमा आउन नसक्ने अवस्थामा रहेका कार्यक्रम परिमार्जन गर्दै चालु आर्थिक वर्षको बजेट थप गरेको जनाएको छ । गत अधिवेशनले चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट ३ अर्ब २१ करोड राखेकोमा नगर सभाको १४औँ अधिवेशनले हाल त्यसमा २५ करोड रुपियाँ बढाएर ३ अर्ब ४६ करोड रुपियाँ पुर्‍याइएकाे हो । 

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले यस वर्ष महानगरपालिकाभित्रका चापाकल सुकेर खानेपानीको समस्या देखिएकाले खानेपानीका लागि महानगरभित्रका ४ हजार घरधुरीमा धारा जडान गरिने बताउँदै त्यसको लागि थप ८० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिनुभयो । 

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले ८० प्रतिशत र महानगरको २० प्रतिशत लगानीमा महानगरका ४ हजार घरधुरीमा धारा जडान गरिने स्पष्ट पार्नु भयो । धारा जडानको कार्य अघि बढाउन बजेटमै संशोधन गरेर महानगरले भुक्तानी गर्नु पर्ने २० प्रतिशत रकम विनियोजन गरिएको उहाँले बताउनु भयो । 

नगर सभामा नगरप्रमुख सिंहले महानगर सभाको कार्य सञ्चालन विधेयक, संस्कृति तथा सम्पदा संरक्षण एवं संवर्द्धन विधेयक, सङ्घसंस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक सभामा पेस गर्नु भएको थियो । 

त्यस्तैगरी नगर सभामा बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड तथा भवन निर्माण इजाजत सम्बन्धी कार्यविधि २०७५ तेस्रो संशोधन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण संशोधन विधेयक पनि पेस गरिएको थियो । 

आवश्यक कानुनको अभावमा विभिन्न काम गर्न असहज भएकाले सभामा विधेयक पेस गरिएको प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताउनु भयो । नगर सभामा उपमेयर इम्तियाज आलम तथा नगर सभा सदस्यहरूको सहभागिता रहेको थियो ।