• ११ मंसिर २०८१, मङ्गलबार

केन्द्रीय क्याम्पसलाई सुन्दर बनाउँदै त्रिभुवन विश्वविद्यालय

blog

फाइल तस्बिर

कीर्तिपुर, पुस २५ गते । उच्च शिक्षाको केन्द्र रहे पनि अव्यवस्थित परिसरका कारण आलोचना खेप्दै आएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसले सौन्दर्यीकरण थालेको छ । सौन्दर्यीकरणको सुरुआत ‘घडीघर’को नामबाट चिनिने मुख्य भवनको प्राङ्गणबाट गरिएको छ ।

विश्वविद्यालयका प्राचार्य प्रा.डा. ध्यानेन्द्रबहादुर राईका अनुसार सौन्दर्यीकरणको सुरुआत केन्द्रीय भवनअघिको जमिन मिलाउने कामबाट गरिएको छ । करिब १२ रोपनी फराकिलो सो जमिन विश्वविद्यालयकै आकर्षक थलो भए पनि जमिनको बनोट नमिलेका कारण उबडखाबड हुनुका साथै वर्षामा पानी जम्ने गर्दथ्यो । 

“जमिनको सतहलाई थोरै पूर्वतर्फ ओरालो बनाउने काम सकेपछि त्यहीँकै मौलिक झार हुर्कन दिएर बस्न हुने बनाउँछौँ, प्राविधिक योजनाअनुसार घाम नछेक्ने गरी ससाना बिरुवा रोप्ने र बस्ने बेन्च मिलाउँछौँ”, प्राचार्य राईले भन्नुभयो । जमिन मिलाउनेलगायतको काम अहिले धर्म निर्माण सेवा प्रालिले गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । 

सौन्दर्यीकरणसहित त्रिवि अडिटोरियम हलको छाना मर्मत र प्राचार्य कार्यालयमा एक तला थप्ने कामसमेत गरी तीन वटा प्याकेजको ठेक्का धर्म निर्माण सेवा प्रालिलाई दिइएको छ । कुल १५ लाखको कामका लागि छ महिनाको अवधि तोकिएको जानकारी पनि प्राचार्य राईले दिनुभयो । बल्खुबाट दक्षिणतर्फ कीर्तिपुरसम्म र बागमतीको पश्चिमी किनारादेखि चोभारको सीमासम्म गरी कुल तीन हजार सात सय रोपनी क्षेत्रफल ओगटेको त्रिवि परिसर स्थापनाकालदेखि अहिलेसम्म पनि अव्यवस्थित छ । 

सबैतिर सीमा पर्खाल नहुनु, जथाभाबी आवतजावत हुनु र परिसरमा रुख बिरुवाको व्यवस्थापन उचित ढङ्गमा नहुने जस्ता कारणले त्रिवि परिसर अव्यवस्थित देखिएको पनि प्राचार्य राई बताउनुहुन्छ । विभिन्न समयमा त्रिवि परिसरको सबैतर्फ पर्खाल लगाउनुपर्ने कुरा उठे पनि धेरै बजेट आवश्यक भएका कारण त्यत्तिकै सेलाएर जाने स्थिति छ । करोडौँ रुपियाँ लाग्ने मोटामोटी अनुमान गरिए पनि यसका लागि प्राविधिक अध्ययन नभइसकेका कारण बजेट प्रस्ताव नगरिएको पनि उहाँले बताउनुभयो । 

परिसरमा आफैँ उम्रिएका झाडीहरू समयमै फाँड्न नसक्दा चितुवाको लुक्ने स्थान र परिसरमा आएर गाँजा खानेहरूको थलो बन्ने जस्तो समस्या पनि त्रिविले भोग्दै आएको छ । गतवर्ष मात्र दुई पटक चितुवा नियन्त्रणमा लिएर वनजन्तुसम्बद्ध निकायलाई हस्तान्तरण गरिएको छ । यसैगरी बेवारिसे छाडिएका गोरुहरू त्रिवि परिसरभित्र दुर्घटना तथा चितुवा पल्काउने प्रमुख कारण बन्न पुगेका छन् । 

यस्ता समस्यालाई निराकरण गर्न झाडी फाँड्न सुरु गरिए पनि ठुलो क्षेत्र भएका कारण काम नसकिएको पनि प्राचार्य राई बताउनुहुन्छ । लामो समयदेखि व्यवस्थित क्याप्टेरिया नहुँदा अप्ठ्यारो स्थिति त्रिविले व्यहोर्दै आएको छ । त्यसको समाधानका लागि क्याप्टेरिया निर्माणतर्फ पनि त्रिवि लागिपरेको जानकारी प्राचार्य राईले दिनुभयो । यसका लागि पुलचोकस्थित इन्जिनियरिङ क्याम्पसमा रहेको त्रिविको आधिकारिक परामर्शदातृ विभागले अध्ययन गरिरहेको र प्रतिवेदन दिन बाँकी रहेको पनि उहाँले बताउनुभयो । 

वि.सं.२०२७ मा तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको क्याप्टेरियामा विद्यार्थीलाई प्रतिछाक तीन रुपियाँमा खान खुवाउने गरिन्थ्यो । चरम घाटामा गएको र प्रयास गर्दा पनि नसुध्रिएको भन्दै २०४८ सालमा तत्कालीन उपकुलपति केदारभक्त माथेमाले क्याप्टेरिया बन्द गराउनुभयो । उक्त भवनमा अहिले निजी स्तरमा दुई वटा चिया खाजा पसल चलिरहेका छन् । 

“कोही प्रतिष्ठित अतिथि विश्वविद्यालय भ्रमणमा आएका बेला गुणस्तरीय र सुरक्षित ढङ्गले भोजन गराउने अवस्था नभएका कारण क्याप्टेरिया निर्माणको तयारी गरेका हौँ”, उहाँले भन्नुभयो । विश्वविद्यालय परिसरको मुख्य स्थानमा सिसिटिभी क्यामेरा जडानको तयारी पनि प्राचार्य कार्यालयले थालेको छ । यसको परामर्शदाताका रूपमा त्रिविअन्तर्गतको आङ्गिक क्याम्पस पुल्चोकले काम गर्ने जनाइएको छ । सार्वजनिक शौचालय र पाँच सय जना अट्ने छात्रावासको निर्माण गर्ने योजना पनि त्रिविको छ । रासस