• १४ मंसिर २०८१, शुक्रबार

पानी परीक्षण प्रयोगशाला स्थापना

blog

फाइल तस्बिर

रामपुर (पाल्पा), पुस २५ गते । स्थानीयलाई घर-घरमा शुद्ध पानी पुर्‍याउन पानी परीक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाभित्र सफा, स्वच्छ खानेपानी उपभोग गर्न पानीका मूल, स्थानीयले प्रयोग गर्दै आइरहेका मुहानको पानी परीक्षण गरिने भएको छ । 

यहाँका विभिन्न मूल, मुहानमा रहेका पानीलाई खानयोग्य छ कि छैन प्रयोगशालामा परीक्षण गर्ने र उपचार विधि गर्नुपर्ने पानीलाई उपचार गरी सबैलाई शुद्ध पानी उपभोग गराउने गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक र आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको पालिकाले जनाएको छ ।

प्रयोगशाला नहुँदा पिउने पानीको स्वच्छता मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता थियो । अब भने पालिकाभित्र नै प्रयोगशाला स्थापना भएपछि पानीको शुद्धताका लागि सहज हुने भएको छ । पालिकाको यो पहिलो पानी परीक्षण प्रयोगशाला हो । पानीका मुहान र मूल प्रशस्त रहे पनि सबै खानका लागि योग्य नहुने हुँदा परीक्षण गर्ने विधि भएपछि पानी शुद्ध छ या छैन सबै जानकारी लिन सजिलो हुने स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी बताउनुहुन्छ । 

यहाँ रहेका मूल, मुहानका पानी नियमित रूपमा परीक्षण गरेर उपभोग गरिने उहाँले बताउनुभयो । पानी परीक्षण नियमित नहुँदा सफा, शुद्ध, स्वच्छ छ या छैन भन्दा पनि दैनिक आवश्यकता परिपूर्तिका लागि पानी उपभोग गर्न स्थानीय बाध्य थिए । पानीका कारण विभिन्न रोग लाग्ने हुँदा सबैभन्दा पहिला खानेपानी उपभोगमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । रासस