सिराज खान
नेपालगन्ज, पुस २५ गते । कागजपत्र नभएका इलेक्ट्रिक रिक्सालाई नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर नष्ट गर्न शुरु गरेको छ । केही समय अघिबाट इलेक्ट्रिक रिक्सा व्यवस्थापन अभियान चलाएको उपमहानगरले कागजपत्र नभएका ईर्रिक्सालाई अवैध बताउँदै डोजर चलाएर नष्ट गर्न शुरु गरेको हो । गत मङ्सिर १९ गतेदेखि सुरु गरेको उक्त प्रक्रिया उपमहानगरपालिकाले जाँच गरेर कागजपत्र नभएका पाँच वटा रिक्सालाई डोजर चलाएर नष्ट गरेको छ ।
नेपालगन्जका मेयर प्रशान्त विष्टले आवश्यक कागजात नभएका ती रिक्साको प्राविधिक जाँच गरी डोजरले नष्ट गरिएको बताउनुभयो । उहाँले कागजपत्र नभएका भे.१ स.५४९८, भे.१ स.८७५१, भे.१ स.४८, भे.१ स.१५३१ र गाविस ०२ नम्बरको रिक्सालाई नष्ट गरेको बताउनुभयो । मेयर विष्टले उपमहानगरमा अवैध इलेक्ट्रिक रिक्सा गुड्न पूर्णरुपमा प्रतिबन्ध लगाउने अभियानअनुसार यस्तो काम गरिएको जनाउँदै अवैध रहेका सबै रिक्सालाई यसैगरी नष्ट गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे,“हामीले पटक–पटक रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिएका थियौँ, नियन्त्रणमा लिइएका धेरै रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छोडेका छौँ, अवैध रिक्सालाई चाही नष्ट गर्न सुरु गरेका हौँ ।” रिक्सा नियन्त्रणमा लिएपछि पनि १५ दिने सूचना जारी गरेर अद्यावधिक गर्न समय दिइएकोमा केही रिक्सा धनी सम्पर्कमा नआएकाले नष्ट गर्न शुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
रिक्सा नष्ट गरिएकोमा आलोचना
उपमहानगरपालिकाले डोजर चलाएर रिक्सा नष्ट गर्न शुरु गरेपछि त्यसको कडा आलोचना र विरोध गरिएको छ । अवैध सवारी साधनलाई भन्सारमा पठाउनुपर्ने वा अन्य विभिन्न विकल्प हुँदाहुँदै नष्ट गर्नु तानशाही भएको भन्दै अधिकांशले विरोध गरेका छन् ।