सिराज खान
नेपालगन्ज, पुस २५ गते । विभिन्न प्रकारका विपद्को समयमा अतिआवश्यक मानिने २५ प्रकारका विभिन्न सामग्रीहरू नेपालगन्ज उपमहानगरपालिकाले वडा प्रहरी कार्यालय नेपालगन्जलाई हस्तान्तरण गरेको छ ।
विपद्को बेला खोज तथा उद्धार कार्यमा प्रयोग हुने २५ थरिका सामग्रीलाई नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीलाई हस्तान्तरण गर्नुभयो ।
वडा प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएका सामग्रीमा छ थान स्ट्रेचर, १२ लाइफ ज्याकेट, ४० हेल्मेट, १२ थान गम्बुट, एक फायरस्ट्रेगुसर, एक थान हाते माइक, १० वटा हेक्चा प्लेट, विभिन्न तौलका घनहरू, फस्ट ऐड बक्स, गोदालो, खन्ती, फरुवा, प्लाष्टिकको ठुलो सानोडोरी लगायतका २५ प्रकारका उद्धार सामग्री रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार उद्धार तथा खोज सामाग्री हस्तान्तरण गर्दै नेपालगन्जका मेयर विष्टले नेपालगन्ज भूकम्प, आगलागी, अत्यधिक गर्मी र शीतलहरूको उच्च जोखिममा रहेकाले कुनै पनि घटना हुँदा सबैभन्दा पहिले प्रहरी नै पुग्ने भएकाले यी सामाग्री प्रदान गरिएको हो ।
उहाँले नेपालगन्जका केही वडाहरूमा रहेका पुराना वस्तिहरूका धेरै घरहरू निकै कमजोर र जीर्ण अवस्थामा पुगेकाले भूकम्पको अत्यधिक जोखिम रहेकाले सो जोखिम न्यूनीकरणका लागि विभिन्न परियोजना सञ्चालन गरिएको पनि बताउनुभयो ।
खोज तथा उद्धार सामाग्री बुझ्दै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक बिसीले कुनै पनि विपदमा प्रहरी नै खटिनुपर्ने हुँदा प्रहरीलाई आवश्यक सामग्री र उपकरणको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले यी सामग्रीको संरक्षणसँगै सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।