• ११ मंसिर २०८१, मङ्गलबार

दोलखा महोत्सवमा पाँच करोडको व्यापार

blog

महोत्सव कार्यक्रम । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले
चरीकोट, पुस २५ गते ।
दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको बृहत् दोलखा महोत्सवमा पाँच करोडभन्दा बढिको व्यापार भएको छ । पुस १३ गतेदेखि सुरु भएको महोत्सव २४ गते सम्पन्न भएको थियो । १२ दिनसम्म चलेको महोत्सवमा विभिन्न सांगितिक कार्यक्रमसहित सञ्चालन भएको थियो । साथै करिब एक लाख जनाले महोत्सवको अवलोकन गरेको दोलखा उद्योग वाणिज्य सङ्घ दोलखाका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा राखिएका एक सय ४७ वटा स्टलमा स्थानीय कृषिजन्य उत्पादन, हस्तकला, किवि, सुन्तला लगायतका फलफूल, खाना तथा कपडाका सामग्री रहेको र ती स्टलहरुमा दैनिक ४० लाखसम्मको कारोबार भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सवका लागि भीमेश्वर नगरपालिकासहित जिल्लाको नौ वटै पालिका र विभिन्न ४० भन्दा बढी सङ्घसंस्थाको सहकार्य रहेको आयोजकले जनाएको छ ।

दोलखा महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो । महोत्सवले जिल्लाको आर्थिक गतिविधिमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने र पर्यटन प्रवर्द्धन तथा कृषि उत्पादनमा समेत टेवा पुर्‍याउने भएकाले दोलखा उद्योग वाणिज्य सङ्घले आगामी २०८१ साल कात्तिक ३० गतेदेखि मङ्सिर १५ गतेसम्म दोस्रो बृहत् दोलखा महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ ।

महोत्सवको अवसरमा आस्था राउत, रमेश प्रसाई, कल्पना दाहाल, ज्योति मगर, राजनराज शिवाकोटी, अमृत खाती, हरिबहादुर राउत, कोपिला वाईवा, एलिना चौहान, शान्ति श्री परियार, प्रीति आलेलगायतका राष्ट्रिय कलाकार र स्थानीय कलाकारको प्रस्तुति, ब्याण्डमिन्टल खेल प्रतियोगिता, गजल साँझ, स्ट्रिट फुड फेस्टिबललगायतका कार्यक्रम  सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

मङ्गलवार सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, एमाले नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।