• १२ साउन २०८१, शनिबार

कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण

blog

पशुपतिनगर समाचारदाता

पशुपतिनगर (इलाम), पुस २५ गते । इलामको सूर्योदय नगरपालिका–७, कन्याममा २३ करोड रुपियाँको लगानीमा चिया अनुसन्धान केन्द्र (टि टेस्टिङ सेन्टर) निर्माण गरिएको छ । चिया क्षेत्रको बजारीकरण, अनुसन्धानका लागि चिया रोपण सुरु भएको करिब १६० वर्षपछि कन्याममा अनुसन्धान केन्द्र निर्माण भएको हो । 

देशकै पहिलो चिया अनुसन्धान केन्द्र निर्माण भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । नगरपालिकाको एउटा ‘गौरवको आयोजना’ मानिएको केन्द्रको भौतिक संरचना निर्माण सम्पन्न भएको छ । अनुसन्धान केन्द्रसँगै नगरले सुविधा सम्पन्न होटलसमेत सञ्चालन गर्ने छ । जसका लागि संरचना निर्माणको काम सम्पन्न भइसकेको छ । 

नगर प्रमुख राईले कोशी प्रदेश सरकार र नगरको साझेदारीमा २३ करोड रुपियाँको लागतमा उक्त केन्द्र निर्माण भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केन्द्रमा अर्थोडक्स चियाका स्टल राखिएपछि सोझै विदेशी खरिदकर्ता आएर महँगो मूल्यमा चिया खरिद गर्न सक्ने छन् ।”

चिया उद्योगी तथा सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले नेपाल भारतबिच देखिएको चियाको प्रयोशालासम्बन्धी समस्या अनुसन्धान केन्द्रको निर्माणले हट्ने बताउनुभयो । उहाँले केन्द्रमा प्रयोगशाला स्थापना गर्न सके परीक्षणको समस्या हट्ने बताउनुभयो । भारतले नेपालको चिया निकासीका बेला बर्सेनि समस्या सिर्जना गर्ने गरेको छ । भारतले नेपालको चियाको परीक्षण रिर्पोट ढिलो दिने, परीक्षण गर्दा विषादीको मात्रा बढी देखिने जस्ता समस्या देखाएर नेपाली चिया निर्यातमै समस्या ल्याउने गरेको छ । 

चिया उद्योगी कट्टेलले भन्नुभयो, “उक्त केन्द्रमा चियाको मिनी अक्सन स्थापना गरी विदेशीलाई चिया खरिदका लागि सोझै ल्याउन सकिने छ ।” नगरले सूर्योदयसहित जिल्लाको चिया उक्त केन्द्रमा सङ्कलन गर्न सकिने जनाएको छ । चिया रोपण, उत्पादनदेखि चियाको पात, जरासम्मको अध्ययन उक्त केन्द्रमा हुने जनाइएको छ । चियाको नेपाली जात निर्धारण गर्नसमेत केन्द्रले सहयोग पुग्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजना फिक्कलका प्रमुख विजय मिश्रले जानकारी दिनुभयो । इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ ।