• १२ मंसिर २०८१, बुधबार

सर्वसाधारणलाई खाद्यान्न बिक्री

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस २५ गते । हिमाली जिल्ला हुम्लामा तीन महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न  बिक्री  थालिएको छ । हेलिकोप्टरबाट ढुवानी गरेर गोदाममा खाद्यान्न मौज्दात वृद्धि भएपछि खाद्यले खाद्यान्न  बिक्री सुरु गरेको हो ।  सिमकोट गाउँपालिका–१ को दोजाम गाउँकी च्यागा लामाले तीन महिनापछि मासिक कोटाको खाद्यान्न पाएको बताउनुभयो । उहाँले यसअघि पटक पटक खाद्यको शाखामा खाद्यान्न जाँदा मौज्दात नभएकाले खाद्यान्न नभएको जवाफ पाउने गरिए पनि अहिले ३० केजी खाद्यान्न पाएको जानकारी दिनुभयो । 

खाद्य हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले असोजपछि खाद्यान्न  बिक्री  सुरु गरिएको बताउनुभयो ।  खाद्यान्न ढुवानी नियमित भइरहेका कारण वडा, बजारवासी, कर्मचारी सबैलाई खाद्यान्न  बिक्री  गरिने जनाइएको छ । ढुवानीको जिम्मा पाएको सिम्रिक एयरको हेलिकोप्टरले पुस ८ गतेबाट खाद्यान्न ढुवानी सुरु गरेको हो । 

खाद्यान्न ढुवानी सुरु भएयता दैनिक २० देखि २५ उडान भर्ने गरिएको छ । आर्थिक वर्ष सुरु भएको पाँच महिना सात दिनपछि खाद्यान्न ढुवानी सुरु भएको थियो । हेलिकोप्टरले हवाई मार्गको खाद्यान्न सर्केगाड गाउँपालिका–२, ल्याप्चेबाट ढुवानी गरिरहेको छ । ल्याप्चेबाट १५ मिनेट समय लगाएर सिमकोट विमानस्थलमा खाद्यान्न ढुवानी हुने गरेको छ । अब खाद्यान्न ढुवानी पूरा नहुँदासम्म हेलिकोप्टर सिमकोटमा रहने जनाइएको छ । एउटा उडानमा हेलिकोप्टरले सात क्विन्टल खाद्यान्न ढुवानी गर्ने गर्छ  । 

यसवर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट छ हजार र नेपालगन्जबाट चार हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । यो खाद्यान्न सिम्रिक एयरले नेपालगन्जबाट प्रतिकेजी १४३ रुपियाँ र सुर्खेतबाट प्रतिकेजी १३७ रुपियाँमा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेको जनाइएको छ ।