काठमाडौँ, पुस १८ गते । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले जनसङ्ख्या वृद्धिदर घट्दै जानु मुलुकको हितविपरीत भएको धारणा अगाडि सारेको छ । पछिल्लो तथ्याङ्क अनुसार मुलुकको जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत छ । विश्वव्यापी मान्यता अनुसार जनसङ्ख्या वृद्धिदर एक प्रतिशतबाट तल झर्नुलाई खतराको सूचक मानिन्छ ।
विभागले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनसङ्ख्या विषयका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाले भन्नुभयो, “विश्वव्यापी दार्शनिक मान्यता अनुसार जनसङ्ख्या एक प्रतिशत तल भर्यो भने नियन्त्रण होइन, व्यवस्थापन गर्नुपर्ने हुन्छ । नेपाल पनि पछिल्लो समय यही अवस्थामा आइपुगेको छ ।” उहाँले जनसङ्ख्याका विषयमा पर्याप्त चेतना नहुनु, राज्यको प्राथमिकतामा यो क्षेत्र नपर्नुलगायतका कारण यस्तो अवस्था आएको तर्क गर्नुभयो । छिमेकी मुलुक चीनले समेत विगतमा लिएको एक बच्चा नीतिमा पुनर्विचार गरेर जनसङ्ख्या वृद्धिदरलाई प्रोत्साहन गरेको उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, “चीनले पहिले एक सन्तान नीति लिएको थियो तर यो नीतिबाट जनसङ्ख्या वृद्धिदरमा गम्भीर धक्का लाग्ने महसुस गरेर सन् २०१५ मै दुई वटा सन्तान जन्माउन प्रोत्सान गर्यो । सन् २०२१ सम्म आइपुग्दा त तीन वटा बच्चा जन्माउनेलाई जीवनभर रोजगारी र पालनपोषणको जिम्मेवारी दिने घोषणा गर्न बाध्य भयो ।”
विभागका प्रमुख प्राडा योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्या वृद्धि कम हुनु तथा राज्यका नीतिमा समयानुकूल परिमार्जन नहुँदा उच्च शिक्षामा समेत प्रभाव परेको बताउनुभयो । हचुवाका भरमा शिक्षा नीति निर्माण हुनु, यसले समाजमा पार्न सक्ने प्रभावबारे अध्ययन नहुनुलगायतका कारण यस्तो समस्या निम्तिएको बताउँदै उहाँले आफ्नो विभागमा भर्ना हुने विद्यार्थी विगतको वर्षको तुलनामा केही कम भए पनि जनसङ्ख्या विषय पढेका विद्यार्थी बेरोजगार भने बस्न नपरेको बताउनुभयो ।
सो विभागमा हाल स्नातकोत्तर तहमा पाँच जना मात्र नियमित विद्यार्थी छन् । देशका नौ क्याम्पसमा जनसङ्ख्याशास्त्र विषयमा स्नातकोत्तर तह अध्यापन गरिन्छ । ती शिक्षण संस्थामा १५४ जना अध्ययनरत छन् । अहिले जनसङ्ख्याशास्त्र विषयमा भर्ना खुला भएको बताउँदै विभागीय प्रमुख डा. गुरुङले भन्नुभयो, “विद्यार्थी सङ्ख्या महत्वपूर्ण होइन । गुणस्तरीय विद्यार्थी हुनु पर्छ । विद्यार्थी नभएकाले प्राध्यापक फुर्सदिला भएको भन्ने भ्रमपूर्ण समाचार आउने गरेका छन् तर ती गलत हुन् । अनुसन्धानमा व्यस्त हुने गरेका छौँ । प्राध्यापकको जिम्मेवारी अध्यापनमात्र हुँदैन अनुसन्धान पनि हुन्छ ।”