• २० वैशाख २०८१, बिहिबार

काभ्रेमा बृहत् कृषि-महोत्सव हुँदै

blog

फाइल तस्बिर

काभ्रेपलाञ्चोक, पुस १७ गते । काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका संयुक्त आयोजनामा जिल्लाका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आउँदो फागुन ४ देखि ७ गतेसम्म बृहत् कृषि महोत्सवको आयोजना गरिने भएको हो । 

कृषि महोत्सवको आयोजनार्थ सरोकारवालाबिच भएको छलफलमा महोत्सवले कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि नागरिकलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको केन्द्रले जनायो । केन्द्रका प्रमुख कुलप्रसाद दवाडीका अनुसार महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ । उहाँले महोत्सवमा दुग्धजन्य उपज एवम् उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवम् उत्पादन तथा प्रविधि, मासुजन्य उत्पादन, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने बताउनुभयो ।

यस्तै, महोत्सवमा उत्पादन र प्रशोधनसँग सम्बन्धित उपकरणहरू, उच्च प्रविधियुक्त संरचनामा आधारित उत्पादन सामग्री, जैविक मल, प्राङ्गारिक मल, रैथाने उत्पादन तथा परिकारहरूका स्टल राखिने जनाएको छ । महोत्सवमा कृषिका आएका प्रविधि र विभिन्न सवालका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरतासम्बन्धी सेमिनार, कृषकका रैथाने प्रविधिहरूको प्रदर्शन, उन्नत बीउबिजन, यन्त्र, औजार, उपकरण अन्य सामग्रीको बिक्रीवितरण, स्थलगत बाली तथा माटो शिविरको आयोजना गरिने छ । 

महोत्सवबाट कम्तीमा एक सय व्यावसायिक फार्म स्थापना हुने, बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवम् हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवम् व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा आयोजकको छ । केन्द्रका अनुसार महोत्सवका लागि ६५ लाखको खर्च हुने प्रारम्भिक अनुमान छ । रासस