• १६ वैशाख २०८१, आइतबार

यसरी पल्टिन्छ खुदो (फोटो फिचर)

blog

काठमाडौँ, पुस १७ गते । कसैलाई केही फलिफाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ । कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा अझैसम्म त्यही चलन छ । अझै पनि खुदो पकाउने चलन हराएको छैन ।

पोखरा ३२ मालेपाटन र ढोडबेसीँमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो । कहिलेदेखि उखुखेती हुन्थ्यो यकिन नरहेको स्थानीय बताउँछन् । मालेपाटन र ढोडबेसीँका करिब ८ सय परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् । त्यही उखु पेलेर बर्सेनि खुदो पकाएर बेच्छन् । पुस पन्ध्र र माघे सङ्क्रान्तिमा खुदो खाने चलन पनि छ । अनदी चामलको लट्टे पहिला–पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । माघे सङ्क्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ । त्यसैले यो मौसम उखु र खुदोको मौसम हो । बीउ रोपेको एक वर्षमा उखुको लाँक्रा काट्न ठिक्क हुन्छ । लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । ५ घण्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ । यहाँका किसानले केही वर्ष पहिलेसम्म कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो । पोखरा महानगरले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् ।

मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाउँछन् । दुई ठाउँमा गरेर करिब २ सय रोपनीमा उखु खेती हुँदै आएको छ सिँचाइको सुविधा नभएकोले यस क्षेत्रका बासिन्दाले उखुखेती गर्न गर्न थालेको र उखु खेतीकै कारण गाउँको नाम नै ढोडबेसीँ रहन गएको धेरैको बुझाई छ । पहिला पहिला ढोडबेसीँका किसानले उखुबाट तयार पारेको खुदो बिक्री गर्न उत्तिकै समस्या थियो तर अहिले गाउँबाटै सबै खुदो बिक्री हुने गरेको स्थानीय काशी धमलाको भनाइ छ । उहाँकै पहिला उखुको उत्पादन बढी हुने गरेको तर मूल्य नपाइने गरेको भए पनि अहिले उत्पादन कम भएको तर मूल्य राम्रो पाइरहेको बताउनु भयो ।

यो वर्ष गाउँबाटै प्रतिलिटर ४ सयका दरले खुदो बिक्री भइरहेको छ । यो क्षेत्रका किसानले प्रतिवर्ष कम्तीमा १५ हजार लिटर खुदो तयार गर्दछन् । तर गाउँका युवाको विदेश मोह र झन्झटिलो काम अनि आम्दानीका अन्य श्रोतका कारण उखुखेतीबाट हात झिक्नेहरू बढ्दै गएको स्थानीय बताउँछन् । स्थानीय महादेवप्रसाद धमलाले पहिला धेरै राम्रो भएको र अहिले मानिसहरू धेरै बाहिर जाने क्रमले काम गर्ने युवा जनशक्ति नहुँदा उखु उत्पादन कम हुँदै गएको बताउनुभयो । उहाँले सरकारले कुनै राहत नदिएको गुनासो गर्नुभयो ।

उत्पादन भएको उखु र त्यसबाट बनेको खुदो बिक्री गर्न किसानहरूलाई चिन्ता भने छैन । घर गाउँमा एकाध गाँज उखु भए पनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरू गाउँमा खेती भएको छैन । मालेपाटन र ढोडबेसीँमात्रै एक्लो गाउँ हो । रोपेपछि वर्षमा ३ पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको किसान बताउँछन् ।