होमराज रानाभाट
कावासोती, पुस १५ गते । सदरमुकामको छेउमै रहेको मनमोहक मानिने टरुवा ताल अहिले संरक्षणको अभावमा कुरूप बन्दै गएको छ । कावासोती नगरपालिका–७ र ८ को सङ्गममा रहेको टरुवा तालको संरक्षणमा बेवास्ता हुन थालेपछि अहिले झाडीले तालको सौन्दर्य नै लोप हुने अवस्था आएको हो ।
कावासोती–७ का स्थानीय हरिलाल महतो थारूले सदरमुकाम कावासोतीमा रहेको एक मात्र टरुवा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँका स्थानीय र सरकारी निकायले समेत चासो दिएका छैनन् । दुई वर्षअघि केही काम भए पनि अहिले भने काम शून्य हुँदै जान थालेको छ । स्थानीय पदम थापाले तालमा हरियो घाँस उम्रन थालेर ताल पुरिएको बताउनुभयो। अहिले कुनै काम अगाडि बढ्न नसक्दा यो ताल दिनानुदिन कुरूप बन्दै जान थालेपछि सर्वत्र चिन्ता छाएको उहाँको भनाइ छ ।
तीन वर्षअघि कावासोती नगरपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबिच सम्झौता भई सात करोड रुपियाँ लगानीमा साझेदारी कार्यक्रम गर्ने सहमति भएको थियो । काम नभई रकम फिर्ता गएपछि अहिले यसको संरक्षणमा कसैको चासो नगएको स्थानीयले बताएका छन् ।
कावासोतीका अमरसिंह विकले कार्यक्रम सुरु भएको भनिए पनि घाँस उम्रेर ताल नै पुरिने अवस्था आउनु दुःखद भएको बताउनुभयो ।
कावासोतीका माधव भण्डारीले तीन वर्षअघि कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको भए पनि काम हुन नसकेको बताउनुभयो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत तालको संरक्षण गर्ने साझेदारी भएको थियो । कावासोतीका गोपाल बस्ताकोटीले ताल लोप भएर जाने खतरा बढ्दै गएको दुःखेसो पोख्नुभयो ।
नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले यस क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा काम अगाडि बढेको र टरुवा तालको संरक्षणमा नगरले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
नगर प्रमुख भुसालले प्रदेश र सङ्घ सरकारसँग समन्वय गर्दै साझेदारीमा काम अघि बढ्ने गरी प्रक्रिया सुरु भएको बताउनुभयो । स्थानीय संरक्षणकर्मी शालिकराम सापकोटाले टरुवा तालसहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि पहिलो पटक यति धेरै बजेट विनियोजन भए पनि काम हुन नसक्नु दुःखको विषय भएको बताउनुभयो ।