फडिन्द्र अधिकारी
लेखनाथ, पुस १५ गते । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले कार्यालय प्रयोजनका लागि दश करोडमा घर किन्ने भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ को सिमलचौर नजिक रहेको घर करिब १० करोडमा किन्ने निर्णय भएको एमाले गण्डकी अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।
एमाले प्रदेश समितिको पहिलो बैठकले घर किन्ने निर्णय लिएको हो । यसका लागि पन्ध्र लाख रुपैयाँ बैनासमेत दिइसकेको अध्यक्ष शर्माले बताउनुभयो । एमाले गण्डकीले अहिले पोखराको नयाँ बजारमा भाडाको घरमा प्रदेश कार्यालय चलाइरहेको छ ।
“नौ करोड पैसठी लाखमा घर किन्ने निर्णय भएको छ । पन्ध्र लाख बैनासमेत दिइसकेका छौँ,” शर्माले भन्नुभयो । आवश्यक हल निर्माण र घर व्यवस्थापन गर्न थप एक करोड खर्च हुने उहाँको अनुमान छ ।
पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सहयोग गर्ने वचन दिएकाले सोहीबाट बाँकी रकम तिर्ने एमाले गण्डकीको तयारी छ । यसअघिको एमाले गण्डकीको बैठकले प्रत्येक सदस्यबाट पाँच सय नघट्ने गरी रकम उठाउने निर्णय लिएको थियो । गण्डकीमा एमालेका त्रिसट्ठी हजार पार्टी सदस्य रहेको बताइन्छ ।
बैठकले कमिटीका सदस्यहरूको कार्य विभाजनसमेत गरेको छ । यसैबिच, एमालेले गण्डकी प्रदेशका एघार जिल्लाका अधिवेशन चैतभित्रै सक्ने निर्णयसमेत गरेको छ । बैठकमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कामकाजी कार्य योजनासहित अघि बढ्न प्रदेश कमिटीलाई निर्देशन दिनुभयो ।