बैतडी समाचारदाता
बैतडी, पुस १२ गते । उमेरले ७८ वर्ष पुगिसक्नुभएका वीरबहादुर चन्द गाउँमै हाते कागज उद्योग खोलेर नेपाली कागजको महत्व बुझाउँदै हिँड्नुभएको छ । पूर्व गाविस अध्यक्षसमेत रहनुभएका चन्द स्थानीय सरकारले नेपाली कागज किन्नुपर्ने माग राख्दै आउनुभएको छ ।
स्थानीय तहको सरकारले नेपाली कागज प्रयोग गर्ने चासो नदेखाउँदा उत्पादित हाते कागजका दुई हजार चार सय कोरी उद्योगमा थन्किएर बसेको उहाँले बताउनुभयो ।
बैतडी सिगास गाउँपालिका–९, चौखामस्थित जालहाल्ला नेपाली हाते कागज उद्योगले दैनिक तीन सय हाते कागज उत्पादन गर्दै आएको छ । उत्पादित हाते कागज धनगढीदेखि काठमाडौँसम्म पु-याउन सकिएको छैन ।
स्थानीय सरकारले लेटरप्याड, चिठीपत्र राख्ने खामलगायतका लागि प्रयोग नगरेको उद्योगका अध्यक्ष वीरबहादुर चन्दले गुनासो गर्नुभयो । २०४९ सालमा तत्कालीन चौखाम गाविस अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका चन्दले २०६६ सालमा गाउँका अगुवा व्यक्तिलाई समेटेर उदयदेव सामुदायिक वन दर्ता गरेर वनमा लोक्ता खेती सुरु गर्नुभएको हो ।
नेपाली कागज बनाउन प्रयोग हुने लोक्ताका बोटले भरिभराउ रहेको जङ्गल छेउमा रहेको हाते कागज उद्योगका सञ्चालक वीरबहादुर चन्दले २०७० सालदेखि गाउँमा नेपाली कागज उद्योग स्थापना गरी सात जनालाई रोजगारीसमेत दिनुभएको छ ।
उद्योगबाट अहिले जापानी प्रविधिबाट कागज उत्पादन हुने गरेको छ। सुरुमा ढुङ्गामै लोक्ता थिचेर नेपाली कागज बनाउन सुरु गर्नुभएका चन्दले नयाँ प्रविधि सिके पनि कागज काट्ने मेसिन र चिल्लो बनाउने प्रेसर मेसिन नहुँदा समस्या भइरहेको बताउनुभयो ।
२०७० सालमा नेपाली कागज बनाउन सामुदायिक वनमा लोक्ताका बोटको छ वटा ब्लक खेती विस्तार गरेर एक महिनामा एउटा ब्लकबाट लोक्ता निकाल्ने गरेको चन्दले बताउनुभयो ।
सामुदायिक वनलाई राजस्व तिरेर वार्षिक २३ टन कच्चा पदार्थ प्रयोग गर्न सक्ने अनुमति पाएका चन्दले उद्योगमा बिजुलीको समस्या भएको दुःखेसो पोख्नुभयो । “कागज उद्योगसम्म राष्ट्रिय प्रशारण लाइन पुग्न सकेको छैन, गाउँमा रहेको लघुजलविद्युत्ले मेसिनमा मोटर चल्दैन,” चन्दले भन्नुभयो ।
बैतडीका १० वटा स्थानीय सरकारले गाउँमा उत्पादन भएको नेपाली कागज त किन्दैन, अरू सहयोगको के आशा गर्नु ? उहाँले थप्नुभयो, “स्थानीय सरकारले ठुला कम्पनीले उत्पादन गरेको कागज र खाम किन्ने गर्छन् । गाउँमा उत्पादन भएको नेपाली कागज चिन्दैनन् ।”
नेपाली कागज धमिराले नखाने विशिष्ट खालको कागज भए पनि यसको महत्व स्थानीय सरकारले नबुझेको चन्दले बताउनुभयो । नेपाली कागज कार्यालयमा प्रयोग गर्ने खाम, लेटरप्याड, निमन्त्रणा कार्ड, विवाह कार्डमा प्रयोग गर्न सके स्थानीय उद्योग फस्टाउने सम्भावना रहेको छ ।