मुसीकोट समाचारदाता
रुकुमपश्चिम, पुस १२ गते । नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिममा अस्थायी आवास निर्माण सुरु गरेको छ । रेडक्रसले तत्कालीन परिपूरणका लागि सहयोग गर्नेसमेत जनाएको छ ।
रेडक्रस रुकुमपश्चिम शाखाले जिल्लामा दुई सय ५० वटा अस्थायी आवास निर्माणको काम सुरु गरेको छ । भूकम्प प्रभावित परिवारलाई तत्कालीन परिपूरणका लागि सहयोग गर्नेसमेत जनाइएको छ । शाखाका सभापति रमा गौतमका अनुसार अहिले जिल्लाका दुई वटा स्थानीय तहमा अस्थायी आवास निर्माणको काम सुरु गरिएको छ । सानीभेरी गाउँपालिका–४ र त्रिवेणी गाउँपालिका–९ र १० मा दुई सय ५० वटा अस्थायी आवास निर्माणको काम जारी रहेको सभापति गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरीमा १५०, त्रिवेणीका दुई वडामा ५०/५० वटा अस्थायी आवास निर्माण हुने छन् । यी आवास सरकारले निर्माण गरेको कार्यविधि अनुसार नै निर्माण हुने छन् । सभापति गौतमले अहिले लाभग्राहीसँग सम्झौता भई निर्माणको काम भइरहेको बताउनुभयो । स्थानीय तहसँगको छलफलबाट लाभग्राही छनोट गरिएको हो । रेडक्रसमार्फत अस्थायी आवास निर्माण भएका प्रभावितले सरकारले दिने अस्थायी आवासको रकम भने पाउने छैनन् ।
परिपूरणका लागि थप सहयोग
रेडक्रसले अस्थायी आवासका साथै तत्कालीन परिपूरणका लागि समेत सहयोग गर्ने भएको छ । रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार कार्यालयले अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपियाँ, अस्थायी शौचालयका लागि १५ हजार, खानेपानीका लागि सात हजार र बहुउद्देश्यीय प्रयोजनका लागि नगद १५ हजार रुपियाँ सहयोग गर्ने छ । सबै सहयोग जोड्दा दुई सय ५० परिवारलाई प्रतिघरपरिवार ८७ हजार रुपियाँ दिने कार्यक्रम रहेको संयोजक थापाले बताउनुभयो ।
रेडक्रसले अस्थायी आवासका लागि छनोट भएका लाभग्राहीसहित सानीभेरी र त्रिवेणीमा गरी एक हजार चार सय २७ परिवारलाई तत्कालीन परिपूरणका लागि बहुउद्देश्यीय नगद रकम १५ हजारका दरले उपलब्ध गराउने जनाएको छ । सुत्केरी, गर्भवती, अभिभावक गुमाएका बालबालिका र ज्येष्ठ नागरिकलाई तत्कालीन व्यवस्थापनका लागि नगद सहयोग गर्न लागिएको कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।
भूकम्पपश्चात् खोज, उद्धार, उपचार र राहतका कार्यक्रममा क्रियाशील रेडक्रस रुकुमपश्चिमले प्रभावित क्षेत्रमा पुगेर पहिलो पटक राहत वितरण गरेको थियो । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले सुरुमा रेडक्रसले आठबिसकोट र सानीभेरीमा तीन/तीन सयका दरले त्रिपाल र कम्बल दिएकाले सहज भएको बताउनुभयो ।